नेपाल प्रेस खबर, बुद्धभुमी रुपन्देही:
आज नेपालमा सूर्योदय,बिहान ०६:०८ बजे र सूर्यास्त,साँझ ०५:१० बजे, हुनेछ भने चन्द्रोदय,साँझ ०४:०१ बजे र चन्द्रास्त,भोलि बिहान ०४:४५ बजे हुनेछ।
मेष~ (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ । धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो, अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाती हुन्छ । महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ ।
बृष~ (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यक्तित्व विकास तथा भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनसक्छ, लक्ष्यप्रति गम्भीर भएमा हरेक काममा सफलता मिल्नेछ । लाभमूलक विषयमा लगानी गरेमा भविष्य सुध्रने छ । वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला । लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ ।
मिथुन~ (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दाम्पत्यसुख र प्रेम सम्बन्धका निमित्त राम्रो समय छ, एक्लै बस्नुहुन्छ भने घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गरेको जाती हुन्छ । नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । आपसी सम्बन्धमा नयाँ मिठास देखापर्न सक्छ, घरपरिवारले आफ्ना समस्या बुझ्ने तथा बृद्धबृद्धासमेत खुसी भएर आशीर्वाद दिने समय हो ।
कर्कट~ (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सपनालाई साकार तुल्याइने छ, लक्ष्य पहिल्याउन सजिलो हुनेछ तर लक्ष्य पूरा गर्न अलि धेरै मिहिनेत गर्नुपर्छ अनि मात्र सफल भइने छ । अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ, कार्यपद्धतिमा सुधार गरी अघि बढेमा भाग्यबल बढ्नुका साथै ठूलाबडालाई खुसी तुल्याउन सकिने छ । कार्यक्षेत्रमा गज्जबले समय व्यतीत हुनेछ, अझ राम्रो होस् भन्ने उद्देश्यले कुनै दुःखीलाई सहयोग गर्नु वा कुनै धार्मिक क्षेत्रमा दान गर्नु राम्रो हुन्छ ।
सिंह~ (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा चिन्ता र निराशा बढ्ने दिन हो, त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको गुनासो बढ्ने गर्दछ । कार्यक्षेत्रमा सफलता पाउनुका साथै सीप र प्रविधिको प्रयोग गरेमा वर्चस्व कायम हुने तथा प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुने राम्रो दिन छ । लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ ।
कन्या~ (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चुनौती र सङ्घर्षका माझमा आफूलाई प्रतिष्ठित तुल्याउने परिस्थिति छ, तर शारीरिक कमजोरी र मानसिक खिन्नता बढ्नाले लक्ष्यप्रति भ्रमित बन्न सक्नुहुन्छ । आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो, तर घरपरिवारको चाहनाअनुसार खर्चमा बृद्धि हुनसक्छ । हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन हो ।
तुला ~(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अनावश्यक काममा समय खेर फाल्नु हुँदैन, कुनै महत्त्वपूर्ण घरायसी काममा सँगीसाथीको सहयोग लिन सकिने छ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो । गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ । पार्टनरसँग दूरी बढ्दामात्र उसको महत्त्व कति छ भन्ने आभास हुने दिन हो, स्वास्थ्यगत कमजोरीले पनि रोमान्टिक जीवन प्रभावित बन्नसक्छ ।
बृश्चिक~ (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ । पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ ।
धनु ~(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कुरा काट्नेहरूको सक्रियता बढ्न सक्छ, दिमाग भारी हुनसक्छ, तथापि बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन हो । पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ । कामधन्दालाई पर सारेर केही समय विश्राम लिनु र मुडफ्रेस गर्नु उचित हुन्छ । त्यस्तै आयस्रोत र पदप्रतिष्ठामा बृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ ।
मकर~ (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ, त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ । आन्तरिक खूबी तथा क्षमताको सहज विकास हुने एवं कार्यशैलीमा गम्भीरता आउने राम्रो दिन छ, बुद्धि र कौशलको प्रयोग गर्दा धनार्जनको राम्रो अवसर मिल्नेछ ।
कुम्भ~ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । नयाँ जिम्मेबारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय हो । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ । कार्यक्षेत्रबाट राम्रो प्रतिफल प्राप्त हुने तथा देशपरदेशबाट शुभ समाचार सुन्न पाइने समय हो । कुनैकुनै काम सँगीसाथी र दाजुभाइको इच्छानुसार गर्नुपर्ने हुन्छ ।
मीन~ (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दैनिक जीवन सहजताका साथमा बिते पनि कुनै कारणवश पतिपत्नीमा विचार नमिल्न सक्छ, तथापि समर्पण भाव र मायाप्रीति कायम नै रहने देखिन्छ । लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो ।
ज्योतिष;
आचार्य पवित्र :९८६७२७८८०२

