“न्यायको तराजु र मित्रताको डोरी” : आदर्श राज्यका दुई अमर स्तम्भ:
✍️सरद भट्टराई लमही दाङ
राज्यको आत्मा: न्याय र सद्भाव:
एक आदर्श राज्य दुई बलिया स्तम्भमा अडिएको हुन्छ, न्यायको तराजु र नागरिकबीचको सद्भाव अनि सहिष्णुता। राज्य साँचो अर्थमा तबमात्र एक हुन्छ जब नागरिकको विश्वास न्याय प्रणालीमा हुन्छ नागरिकहरूबीच आपसी स्नेह र सौहार्द को वातावरण बन्छ।
न्याय र मित्रता यी दुवै राज्यका दुई पाखा हुन्; एउटाको कमजोरीले अर्कोको उडान रोक्दछ।न्याय : अधिकार र जिम्मेवारीको समतुल्य सन्तुलन कानुनले हरेक नागरिकलाई त्यो दिनुपर्छ जसको ऊ हकदार छ, र त्यो भन्दा बढी कहिल्यै दिनुहुँदैन। यही कानुनले फरक–फरक व्यक्ति र वर्गलाई एकै सूत्रमा बाँधेर “नागरिकता” को समान गरिमा प्रदान गर्छ।
दार्शनिक दृष्टिले कानुनका दुई प्रमुख स्वरूप छन् :
१.Distributive Justice (वितरणात्मक न्याय) :
जसले योग्यता, योगदान र क्षमताको आधारमा पद, सम्मान र अवसर वितरण गर्छ।
२.. Corrective Justice (सुधारात्मक न्याय) :
जसले चोरी, हिंसा, धोका जस्ता अन्यायपूर्ण व्यवहारलाई रोक्ने र सुधार गर्ने काम गर्छ।यी दुई नै न्यायका आधारस्तम्भ हुन्, जसले नागरिकहरूमा राज्यप्रतिको आस्था र कानूनप्रतिको श्रद्धा बलियो बनाउँछन्।
कानुनभन्दा बलियो समाज:
यहाँ नेर बुझ्नुपर्ने कुरा के छ भने केवल कानुन र दण्डले मात्र राज्य टिक्दैन। कानुनले मानिसलाई बाहिरिबाट नियन्त्रण गर्छ, तर मित्रता (Philia) ले मनभित्रको आत्मसंयम जगाउँछ।महान् दार्शनिक अरस्तुले भनेका छन् , “Philia केवल दुई व्यक्तिबीचको सम्बन्ध होइन; यो राजनीतिक गुण हो,जसले राष्ट्रलाई विखण्डन हुनबाट बचाउँछ।”जब नागरिकहरूबीच आपसी सम्मान, सद्भाव र सहानुभूति हुन्छ,
त्यतिबेला कानुनको आवश्यकता स्वतः घट्छ,
किनकि मानिसले स्वेच्छाले नै एकअर्कासँग न्यायपूर्ण व्यवहार गर्न थाल्छ।
मित्रताको तीन रूप : स्वार्थदेखि निष्ठासम्म
अरस्तुका अनुसार मित्रता तीन प्रकारको हुन्छ:
१.. स्वार्थमा आधारित मित्रता : जहाँ सम्बन्ध फाइदाको लेनदेनमा टेकेको हुन्छ।
२.. आनन्दमा आधारित मित्रता: जहाँ रमाइलो, सौन्दर्य वा आनन्द नै सम्बन्धको कारण हुन्छ।
३.. गुण र सद्भावमा आधारित मित्रता (Civic Friendship) —
जहाँ सम्बन्ध व्यक्तिगत फाइदाभन्दा पर, एक अर्काको असलता र समाजको भलाईका लागि बाँधिएको हुन्छ।तेस्रो प्रकारको यही Civic Friendship नै आदर्श राज्यको आत्मा हो।यसले नागरिकहरूलाई यो भावनामा बाँध्छ — “हामी सबै एउटै नाउँमा यात्रा गर्दैछौं, डुब्यौं भने सबै डुब्छौं, किनार लाग्यौं भने सबैसँगै पुग्छौं।”
आजको विखण्डित अवस्था : आदर्शबाट दूर
तर दुःखको कुरा, आज हामी घर, जात, धर्म, पेशा, पुस्ता र विचारका नाममा चिरा परेको समाजमा बाँडिएका छौं।
आपसी सम्मान, सद्भाव र भाईचाराका मूल्यहरू कमजोर भइरहेका छन्।सामाजिक सञ्जालमा कलाकार, बौद्धिक वा भिन्न विचारधाराका व्यक्तिहरूप्रति देखिने घृणा र हेला हाम्रो चेतनाको गिरावटको संकेत हो।यसरी हामी साना–साना समूहमा विभाजित हुँदै जाँदा राज्यको आत्मा कमजोर बन्दै गएको छ। २५ सय वर्षअगाडि ग्रीक दार्शनिक अरस्तु — प्लेटोका शिष्य र सिकन्दर महानका गुरु — ले दिएका यी विचारहरू आज पनि उत्तिकै सान्दर्भिक छन्।उनका शब्दहरू “The Scales of Justice and the Thread of Friendship” केवल दर्शन होइनन्, मानव सभ्यताको मार्गनिर्देशक सूक्ति हुन्।
निष्कर्ष : न्याय र मित्रता: राज्यको दुई स्तम्भ:
राज्यको श्वास न्याय हो, र मुटु मित्रता हो।न्याय बिना राज्य निर्जीव हुन्छ, र मित्रता बिना राज्य कठोर बनिन्छ।जब यी दुई सन्तुलित हुन्छन्, तब समाजमा करुणा, मर्यादा र समानताको फूल फुल्छ।त्यसैले “न्यायको तराजु र मित्रताको डोरी नै आदर्श राज्यका दुई अमर स्तम्भ हुन्।”यदि यी दुबै कमजोर भए, राज्य बाँच्दैन; तर यी सबल भए, सभ्यता अमर रहन्छ। त्यसकारण राज्यमा न्याय र सद्भाव विकास गरौँ। समाजमा अराजकता सिर्जना नगरौँ। जिम्मेवार बनौँ।



