आज मिति २०८२ मङ्सिर १५ गते सोमवारको दिन माता सुपादेउरालीको दर्शन गरि हेर्नुहोस आजको राशीफल

नेपाल प्रेस खबर, बुद्धभुमी रुपन्देही:

आज नेपालमा सूर्योदय,बिहान ०६:२८ बजे र सूर्यास्त,साँझ ०५:०१ बजे हुनेछ भने चन्द्रोदय,दिउँसो ०२:०४ बजे र चन्द्रास्त,मध्यरात्रीपछि ०२:३२ बजे हुनेछ।

मेष~ (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

खर्चको मात्रामा अचानक बृद्धि हुनसक्छ, अझ नजिकैको आफन्त वा मनमिल्ने साथीसँगको साझेदारीमा कुनै कारोबार गर्नुछ भने आज सावधानीपूर्वक कदम चाल्नु आवश्यक देखिन्छ, अन्यथा आर्थिक क्षति हुने दिन हो । पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ, लाभमूलक काममा कार्यालयबाहिरको काममा पनि खट्न सकिने छ । तर कर्तव्य र जिम्मेबारीप्रति सचेत हुनुपर्छ । तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ ।

बृष~ (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

गलत क्रियाकलाप वा पूरा हुन नसक्ने महत्त्वाकाङ्क्षी काममा सरिक नहुनु होला । आत्मज्ञान, धैर्यता र संयमता आजका मित्र हुन् भन्ने बुझ्‌नुपर्छ । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला । कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्नसक्छ ।

मिथुन ~(का, कि, कु, घ, ङ, छ, के, को, ह)

भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिने राम्रो समय छ । राजनीति वा समाजसेवा नै तपाईंको कार्यक्षेत्र हो भने त पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ । कर्मको प्रतिफल हात पार्ने तथा पदासीन व्यक्तित्वसँग निकटता बढ्ने दिन हो, लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिने छ ।

कर्कट ~(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ । कर्मप्रतिको निष्ठाभावमा बृद्धि हुनेछ । हाकिम, गुरुजन वा ठूलो मान्छेसँग उठबस गर्न पाइने छ, घरपरिवारबाट पनि शुभ समाचार प्राप्त हुनेछ । इज्जत र प्रतिष्ठालाई दाउमा राखेर काम नगर्नुहोला, जीवनमा पैसा नै सबथोक होइन, आफ्‌नो कर्तव्य र स्वास्थ्यका बारेमा पनि ध्यानकेन्द्रित गर्नुपर्छ ।

सिंह~ (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो । परीक्षा र प्रतिस्पर्‌द्धामा सामेल हुने हो भने गोपनीयतामा जोड दिनुहोला, अनि एक्लै वा एकान्तमा बसेर तैयारी गरेको राम्रो हुन्छ । बढ्दो ऋणभार र खर्चबृद्धिले तनावमा राख्नसक्छ, आज सकेसम्म आफैलाई रिफ्रेस गर्ने र बाधाहरूबाट बाहिर निकाल्ने समय हो । अल्छी गर्ने होइन, विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला ।

कन्या~ (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सुख/सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ । रामरमाइलो र रमझमप्रति मनको आकर्षण रहने सुन्दर दिन छ । मनमा नयाँ उमङ्ग पलाउने छ । विवाहयोग्य उमेर छ र अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षणसमेत बढ्न सक्छ । कार्यक्षेत्रमा सफल हुने दिन हो, तर आफ्‌नो काममा मात्र एकोहोरिनुभन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो ।

तुला ~(र, रि, रु, रे, रो, ता, ति, तु, ते)

विपरीत लिङ्गीहरूसँग उठबस हुने वा कुनै विशेष सहयोग पाउन सक्नुहुन्छ, किनमेलका क्षेत्रबाट पनि लाभ हुनेछ, सँगीसाथीले पूर्णरूपेण सहयोग गर्नेछन् । कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ । अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ ।

बृश्चिक~ (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सिर्जनात्मक काम गर्नुपर्छ भन्ने भावना विकसित हुने सुन्दर दिनको आगमन भएको छ । हाँके/ताकेका काम बन्नुका साथै ज्ञानमूलक क्रियाकलापमा संलग्नता बढ्ने तथा प्रतिस्पर्‌द्धा वा परीक्षामा सफल भइने समय हो । व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर प्राप्त हुनेछ । सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ ।

धनु~ (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

नैराश्य र एकोहोरोपन बढ्नसक्छ, कार्यक्षेत्रमा सहयोगी स्टाफ वा जुनियर कर्मचारीका तथा घरपरिवारमा परिवारका सदस्यको कुरा सुन्ने तथा भावना बुझ्‌ने दिन हो । भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनौट गर्न निकै गोपनीयता अपनाउनु होला, किनभने आज चियोचर्चो गर्नेले तनावमा बृद्धि गर्नेछन् । मन प्रेमिल बन्ने समय हो । नयाँ/नयाँ विषय र काम प्रति जागरुकता बढ्नुका साथै रचनात्मक र सीपमूलक काममा सफलता मिल्नेछ ।

मकर~ (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ । पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ । विद्वान् व्यक्तिका साथमा निकटता बढ्ने समय हो, नजानेको कुनै कुरा छ भने दाजु,दिदी वा गुरु,गुरुआमाको सहायता लिंदा लाभ पाइने छ ।

कुम्भ~ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कामबाट फाइदा हुनेछ, रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरू सफल हुनेछन्, तर नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ, तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नुहुन्छ । अभिव्यक्ति कौशलमा निखार आउने छ, अध्ययनप्रतिको लगावले व्यक्तित्व विकासको सुअवसर मिल्नेछ, आजको मिहिनेतले प्रतिस्पर्‌द्धाको दौडमा अग्रणी हुन सकिने छ ।

मीन ~(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ जिम्मेबारी वा पदभार ग्रहण गर्ने दिन हो । सहकर्मीका माझमा क्रूर बन्नुको सट्टा व्यवहारिक बन्नसकेमा मात्र काम निकाल्न सकिने छ । एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ, जीवनशैली र उठबसमा परिवर्तन गर्नसके प्रेमजीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ । अभिव्यक्तिगत कलात्मकता एवं आन्तरिक प्रतिभा प्रस्फुटन हुने राम्रो समय छ, वौद्धिक क्षेत्र, प्रकाशन वा एजेन्सीसम्बद्ध काम गर्नेले फाइदा लिने र इज्जत कमाउने दिन हो ।

ज्योतिष;
आचार्य पवित्र :९८६७२७८८०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?