नेपाल प्रेस खबर, बुद्धभुमी रुपन्देही:
आज नेपालमा सूर्योदय,बिहान ०६:३० बजे र सूर्यास्त, साँझ ०५:५१ बजे, हुनेछ भने चन्द्रोदय,बिहान ०९:२५ बजे र चन्द्रास्त,बेलुका ०८:४३ बजे, हुनेछ।
मेष~ (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ । कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, बढी खर्च हुने परिस्थिति छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्छ । महत्त्वाकाङ्क्षा राख्नुहुँदैन, नत्र व्यावहारिक समस्या र अपजस खेप्नुपर्ने समय छ ।
बृष~ (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्नसक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुस हटेर जानेछन् । सरकारविरोधी, असामाजिक र हानिकारक कार्यमा संलग्नता बढ्न सक्छ, सोच्दै नसोचेको क्षेत्रमा धनहानि हुनसक्छ, त्यसैले सचेत र संयम हुनुपर्ने समय हो । कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो ।
मिथुन~ (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्ने समय छ, घरपरिवारभित्रकै वा आफन्तको काममा अलि बढी खट्नुपर्ने दिन हो । मिहिनेत गर्नुपर्ने दिन हो, कुनै परीक्षा वा प्रतिस्पर्द्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ । सङ्घर्ष नै जीवनको अर्को नाम हो भन्ने ठानी अघि बढ्दा महत्त्वाकाङ्क्षा पूरा गर्नुका साथै करियरमा परिवर्तन ल्याउन सक्नुहुन्छ । प्रयास गर्दा सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
कर्कट~ (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कुनै नौलो विषयको अनुभव प्राप्त हुनेछ, जसले तपाईंको कार्यशैलीमा सुधार गर्नेछ । वरिष्ठ कर्मचारीको मद्दतले नसुल्झिएको गुत्थी सुल्झाउन सकिने छ । नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ, सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई सेयर गर्ने दिन हो । वाहनसुखको योग छ वा महत्त्वपूर्ण भ्रमणको सङ्केत छ । घरबाट कुनै शुभ वा माङ्गलिक कर्म गर्नेबारेमा सन्देश पाउन सक्नुहुन्छ ।
सिंह~ (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्ने समय हो, तर काम बाँकी राखी अल्छी गरेमा आफैंलाई लोड बढ्नेछ भनी होस राख्नुपर्छ । किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ ।
कन्या ~(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ । आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो । जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ । आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थिति छ ।
तुला~ (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दोधारेपन, अलमल र चिडचिडेपन हाबी हुने दिन हो, अझ पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति शङ्का उब्जनाले दिक्क लाग्ने समय छ । किनमेलका क्षेत्रबाट लाभ हुनेछ । साझेदार र सहयोगीले पूर्णरूपेण सहयोग गर्नेछन् । कुनै प्रतिस्पर्द्धामा समेत सफलता हासिल हुनेछ । गरेको मिहिनेतले सार्थक परिणाम प्राप्त हुनेछ, साथै प्रभाव र प्रभुत्व बढ्ने समय छ । तर हडबड र शीघ्रता शत्रु बन्नसक्छन् ।
बृश्चिक~ (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आन्तरिक प्रतिभाको प्रस्फूटन हुने राम्रो दिन छ, कला र साहित्यप्रति झुकाव छ भने फुरेको विषयवस्तु टिपोट गर्नुहोला, भविष्यमा काम लाग्नेछ । अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछन् । ईर्ष्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ ।
धनु ~(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन हो, आवश्यक भएमा बन्धुवान्धव वा साथीभाइको सहयोग लिन सकिन्छ, अथवा आफन्तका निमित्त पनि समय दिनुपर्ने हुन्छ । पुराना वा तामेलीमा परेका काम दोहोर्याएर गर्ने परिस्थिति छ । अतिरिक्त आम्दानी हुनाले घरायसी सुखसुविधाका वस्तुहरूको किनमेल हुने सङ्केत छ । परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ ।
मकर ~(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आन्तरिक खूबी तथा क्षमताको सहज विकास हुने एवं कार्यशैलीमा गम्भीरता आउने राम्रो दिन छ, बुद्धि र कौशलको प्रयोग गर्दा धनार्जनको राम्रो अवसर मिल्नेछ । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो । माइतीपक्ष वा दिदीबहिनीका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । धार्मिक प्रयोजनको काम वा सामाजिक क्रियाकलापमा पनि दौडधूप गर्नुपर्ने दिन हो ।
कुम्भ ~(गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्यक्षेत्रबाट राम्रो प्रतिफल प्राप्त हुने तथा देशपरदेशबाट शुभ समाचार सुन्न पाइने समय हो । कुनैकुनै काम सँगीसाथी र दाजुभाइको इच्छानुसार गर्नुपर्ने हुन्छ । दैनिक आम्दानीमा बढोत्तरी हुनेछ, कतिपय विषयमा बोलीकै भरमा काम सम्पादन हुनेछ, साथै हाकिम र सेवाग्राही दुवै पक्ष प्रसन्न रहनेछन् । कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ ।
मीन~ (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
निर्णयात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नुहोस्, सफलता मिल्नेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने छ । अनुभवको प्रयोग गरेमा ठोस उपलब्धि प्राप्त हुनेछ, प्रतिष्ठित जिम्मेवारी हातलागी हुने समय हो । व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ, अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ ।
ज्योतिष;
आचार्य पवित्र :९८६७२७८८०२

