नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले डोजर झापा ५ मा पार्टी अध्यक्ष केपी शर्मा ओली नै विजयी हुने दाबी गरेका छन् ।
मंगलबार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले रास्वपाका उम्मेदवार बालेन्द्र साह (बालेन) झापा-५ बाट कुनै पनि हालतमा निर्वाचन नजित्ने बताएका हुन् ।
उनले रास्वपाले झुटा प्रचारमार्फत एमालेको निर्वाचन अभियान कमजोर पार्ने उद्देश्यले पार्टी अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गराउन बालेनलाई झापा-५ मा उम्मेदवार बनाएको आरोप लगाए।
साथै उनले काठमाडौंमा सुकुम्बासी बस्तीमाथि डोजर चलाएको व्यक्तिले झापामा गएर सुकुम्बासीलाई लालपूर्जा दिन्छु भन्ने कुरामा विश्वास गर्न नहुने बताए ।
झापा–५ का सुकुम्बासी नागरिकलाई भ्रममा नपर्न अपिल गर्दै उपाध्यक्ष गुरुङले भने- ‘काठमाडौंको सुकुम्बासी बस्तीमा डोजर चलाउने व्यक्ति झापामा गएर सुकुम्बासीलाई लालपूर्जा दिन्छु भन्नु जनतालाई धोका दिनु हो । यस्ता भ्रममा नपर्न सबैलाई आग्रह गर्छु ।’
बालेनको विगत, वर्तमान र भविष्य हेर्दा उनले सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने विश्वास गर्न नसकिने धारणा राखे ।


