
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) निर्वाचनको तयारीमा केन्द्रित भएको टिप्पणी गरेका छन् । शनिबार (पुस ५) काठमाडौंमा आयोजित पार्टीको एकता सन्देशसभामा उनले बाहिर जे बोले पनि एमालेले भित्री रूपमा निर्वाचनको तयारी गरिरहेको जिकिर गरेका हुन्।
निर्वाचन मुलुकलाई निकास दिने सबैभन्दा सहज विकल्प भएको उनले उल्लेख गरे । उनले दोहोरो चरित्र नदेखाई निर्वाचन प्रक्रियामा एकताबद्ध भएर अघि बढ्न एमालेलाई आग्रह गरे ।
नेपाली कांग्रेसले पनि निर्वाचनमा जाने संस्थागत निर्णय गरेकाले अब चुनाव सम्पन्न गर्ने कार्य नै राष्ट्रको मुख्य काम भएको उनले बताए ।कार्यक्रममा प्रचण्डको भनाइ पढ्नोस्–अहिले घोषणा भइसकेको निर्वाचन नै सबभन्दा सहज विकल्प हो । जनता बिस्तारै निर्वाचनको लागि तयार भइराखेको छ ।
राजनीतिक दलहरू कोही कोर्टमा गए पनि, मैले बुझेसम्म नेपाली कांग्रेसले संस्थागत निर्णय निर्वाचनमा जाने गरिसकेको छ । एमाले पार्टी बाहिर जेसुकै कुरा बोले पनि उनको भित्री तयारी निर्वाचनतिरै छ भन्ने देखिसकिएको छ । त्यसकारण डबल स्टयान्डरको कुरा नगरौँ, सिंगै राष्ट्रलाई निर्वाचन प्रक्रियातिर अगाडि बढाउन सबै एकजुट होऔँ । यही नै नेपालको अहिले राष्ट्रिय आवश्यकता बन्न गएको छ । न्युज एजेन्सी नेपाल


