कुरा सुरू गरौं एक जना माओवादी युवाको प्रसंगबाट। ऊ नाताले मेरो भतिज पर्छ।
निकै समय अगाडिको कुरा हो। सानै उमेरमा ऊ माओवादी भयो र युद्धमा हिँड्यो। त्यसपछि लगभग ४ वर्ष ऊसँग मेरो भेट भएन। जब देशमा शान्तिवार्ता भयो र २०६२/६३ सालको आन्दोलन सकियो, ऊ एक दिन टुप्लुक्क मेरो घर आइपुग्यो।
युद्धमा भाग लिएर आएको ऊ निकै जोसमा थियो, मानौं संसार जितेर फर्किएको छ। ऊ उत्साहित त थियो नै, विजयको उन्मादमा पनि थियो। उसका खुट्टा भुइँमा थिएनन्!
उसले आफू लडेको युद्धको कथा सुनाउँदै भन्यो, ‘त्यो साधारण युद्ध थिएन काका, त्यो न्यायप्रेमी नेपाली जनता र देशी–विदेशी प्रतिक्रियावादीहरू बीचको भीषण युद्ध थियो। एकातिर थिए विश्वभरका प्रतिक्रियावादीहरू र अर्कोतिर थियौं हामी। अन्ततः हामीले जित्यौं।’
त्यस दिन ऊ यसरी बोल्दै थियो, मानौं त्यो जितको नायक ऊ स्वयं हो।
उसले मलाई आफ्ना भूमिगत दिनका अनेक किस्सा सुनायो।
अनि आशावादी हुँदै भन्यो, ‘अब देशमा समाजवाद आउँछ। माओवादी सरकार बन्छ। चीन, भियतनाम र उत्तर कोरियाको जस्तै हाम्रा कमरेडहरू मन्त्री हुन्छन्। प्रचण्ड (पुष्पकमल दाहाल) प्रधानमन्त्री हुन्छन्। नयाँ युग आउँछ।’म उसको कुरा सुनिरहेँ र मुस्कुराइरहेँ।
सायद, मेरो मुस्कानले उसलाई अझै उत्साहित गर्यो, उसले ममाथि दबाब बढाउँदै भन्यो, ‘देशमा परिवर्तनको यत्रो आँधी चल्दा तपाईं कहाँ हुनुहुन्थ्यो काका? त्यही नाथे घर गृहस्थी, त्यही बुर्जुवा पठनपाठन? त्यही दुई–चारपैसे बन्द–व्यापार?’
मैले नरम हुँदै भनेँ, ‘हो, म त यही नाथे गृहस्थीमा फसेँ भतिज।’
शब्दहरूमा धार लगाउँदै उसले थप्यो, ‘यही त तपाईंको दुर्भाग्य हो काका! इतिहासको यति ठूलो संक्रमणमा तपाईंको कुनै भूमिका थिएन। हामी युद्धको मोर्चामा लडिरहँदा, तपाईंहरू किनारमा हुनुहुन्थ्यो। यो निकै अफसोचको कुरा हो!’
मैले उसको भनाइमाथि थोरै व्यंग्य गर्दै भनेँ, ‘इतिहासको यो वेगमा तिमी आकासमा थियौ, म धर्तीमा। मान्छे आकाश र धर्तीमा हुनुको अर्थ आज तिमीले जसरी लगाउँदै छौ, भोलि त्यो फरक हुन सक्छ भतिज। तर पनि तिमीलाई बधाइ छ। जमिनमा आइपुगेका छौ, खुट्टा राम्रोसँग टेक्नू।’
मेरो पछिल्लो कुरा उसले कति बुझ्यो थाहा छैन। यद्यपि, ऊ मख्ख पर्यो र संसार जितेझैं प्रफुल्ल मुखमुद्रामा मसँग हात मिलाउँदै उठ्यो।
हिँड्दाहिँड्दै उसले भन्यो, ‘अब तपाईं माओवादी बन्नुहोस् काका। आवश्यक परे म तपाईंको सिफारिस गरौंला।’
ऊ मसँग बिदा भएर हिँड्यो। हिँड्दा ऊ विजयी घोडाझैं दृढताका साथ खुट्टा चलाउँदै थियो।
त्यसको लगभग पाँच महिनापछि ऊ फेरि मलाई भेट्न आयो। यसपालि ऊ त्यति धेरै उत्साहित थिएन जति पहिलो पटक भेट्दा थियो।
मैले सोधेँ, ‘के गर्दैछौ?’
उसले भन्यो, ‘खुला राजनीति निकै कठिन होला जस्तो छ काका। नेताहरू कतै नबिग्रिऊन्, खबरदारी गर्दैछौं।’
माओवादीहरू खुल्दै थिए। उनीहरूको रहस्य र रोमाञ्चकता सकिँदै थियो। उनीहरूमाथि चोक र चियापसलमा अनेक प्रश्नहरू उठ्न थालेका थिए। र, ती प्रश्नहरूसँग साक्षात्कार हुन उनीहरूलाई कठिन हुँदै थियो।अर्थात, मेरो भतिजको राजनीति कल्पनाको रोमाञ्चक संसारबाट भुइँका जटिलताहरूसँग ठोक्किन आइपुगेको थियो। पार्टीभित्र बढ्दै गएको आन्तरिक प्रतिस्पर्धाले पनि ऊ थोरै अलमल र अप्ठ्यारोमा थियो सायद!
‘अलमलमा नपर भतिज, आफ्नो काममा इमानदार बनेर अगाडि बढ,’ मैले नमागेको सल्लाह दिएँ।
उसले भन्यो, ‘हामी त इमानदारिताका साथ नै काम गर्दैछौं काका। तर जनतालाई धोका नहोस् र नेताहरूले बलिदानलाई अवमूल्यन नगरून्। त्यसैले पार्टीभित्र पनि खबरदारी आवश्यक छ र बाहिर पनि। म अहिले त्यसैमा लागेको छु।’
यो पटक ऊ पहिलेभन्दा जिम्मेवार देखिएको थियो।
तेस्रो पटकको भेटमा भने ऊ अलिक निराश देखियो। भर्खरै काठमाडौं पुगेर फर्किएको ऊ, नेताहरूको शान, शौकत देखेर आश्चर्यमा थियो। चिल्ला गाडी, लश्करै सुरक्षादस्ता, नयाँ नयाँ मान्छेको भिडभाड।
प्रचण्डलाई भेट्नै चार दिन कुर्नुपरेको सुनाउँदै उसले भन्यो, ‘म त शुभ संकेत देख्दिनँ काकाखासमा, माओवादी खुला भएको लगभग दस महिनाभित्र उसले पहिले कहिल्यै नभोगेको परिस्थितिसँग साक्षात्कार गर्नुपरेको थियो।
यता गाउँमा पहिलेजस्तो क्रान्तिको रबाफ थिएन। उता सहरमा आफ्नै नेताहरूसँग भेट्न कठिन हुँदै थियो।
आफैले लडेर ल्याएको पछिल्लो उपलब्धिको छेउकुनो के हो, उसले भेउ पाउन छाडेको थियो। आफ्नै जस्तो लाग्ने प्रचण्ड उसका लागि भेट्नै नसकिने पराइ भएका थिए।
नयाँ नयाँ मान्छेको भिडमा ऊ हराँउदै थियो।
त्यो दिन मसँग बिदा हुँदै गर्दा उसले भन्यो, ‘घरबाट बिहे गर्ने दबाब आएको छ।’
मैले भनेँ, ‘विवाह गर। गृहस्थी बसाऊ। कमाउन थाल। त्यो राम्रो हुन्छ।’
तर मेरो कुरा उसलाई जँचेन।
ऊ ठूला ठूला कुरा गर्न जान्दथ्यो — देशभरका आमाको चिन्ता गर्थ्यो, तर आफ्नै आमा दमको बिमारी भएको उसलाई थाहा थिएन। ऊ देश स्वर्ग बनाउने कुरा गर्थ्यो, तर आफ्नै घरको छानो चुहिएको उसलाई हेक्का थिएन। ऊ लाखौं मान्छेलाई रोजगारी दिने कुरा गर्थ्यो तर आफै बेरोजगार थियो। रातो झन्डा काँधमा बोकेर कृषिक्रान्ति गर्न हिँडेको उसलाई आफ्नै बारी बाँझो भएको थाहा थिएन। ऊ बातबातमा समाजवाद ल्याउने कुरा गर्थ्यो तर त्यसको रङ कस्तो हुन्छ, थाहा थिएनउसको जीवन एउटा विशाल भ्रमको संसारभित्र रूमलिइरहेको थियो।
त्यसपछिका केही महिना हामी आफ्नै धुनमा रह्यौं। त्यसबीच उसको विवाह भयो।
विवाहको लगभग एक महिनापछि एक दिन ऊ हुनहुनाउँदै मेरो घर आयो र भन्यो, ‘मलाई जागिर खोजिदिनुपर्यो काका!’
समाजवाद ल्याउने उत्साह बोकर राजनीति गर्न हिँडेको एक नवयुवा ऊ, जसलाई केही अगाडिसम्म आफू इतिहासको नायक हुँ भन्ने र म त्यो इतिहासले किनारमा छाडेको एक बेकामे मनुवा हुँ भन्ने भ्रम थियो। समयको चक्रवातमा परेर ऊ आकाशबाट भुइँमा यसरी झरेको थियो, उसलाई धेरै कुरा उल्टोपाल्टो भएको थाहै थिएन।उसकै भाषामा भन्दा, इतिहासको त्यो भीषण आँधीले उछिट्याएर किनारमा छाडेको एक नालायकसँग, इतिहासको नायक त्यो दिन जागिरको याचना गर्दै थियो। न त त्यो मेरा लागि गर्वको विषय थियो, न उसका लागि निराशाको विषय।
त्यो खासमा माओवादी विद्रोहमाथि उठेको ठूलो प्रश्न थियो, जुन विद्रोहलाई कुनै बेला ऊ आफूजति नै माया गर्थ्यो।
मैले भनेँ, ‘हुन्छ म कोसिस गर्छु। मलाई तिम्रो सिभी देऊ।’
उसले सोध्यो, ‘के हो सिभी भनेको?’
मैले भनेँ, ‘तिम्रो योग्यता, अनुभव र क्षमताको विवरण।’
‘त्यो त मसँग छैन।’
‘के तिमी कम्प्युटर चलाउन जान्दछौं?’
‘जान्दिनँ।’
‘के तिमी लेखा राख्न जान्दछौ?’
‘जान्दिनँके तिमीसँग कुनै औपचारिक डिग्री छ?’
‘छैन। मैले त फगत रातो किताब पढेको छु।’
‘कुनै तालिम लिएका छौ?’
‘बन्दुक चलाउन र लाठी घुमाउन आउँछ।’
‘सीप के छ?’
‘चन्दा उठाउन जान्दछु। दुश्मनका आँखा छलेर सेल्टरमा लुक्न आउँछ।’
मेरा प्रश्नहरू साधारण थिए, जुन कुरा उसलाई आउँदैन थियो। उसलाई त जनयुद्ध, जनक्रान्ति, जनवाद, समाजवाद र साम्यवाद आउँथ्यो। उसलाई साम्राज्यवाद, पुँजीवाद वा प्रतिक्रियावाद आउँथ्यो। तर गणित, इतिहास र भूगोल आउँदैन थियो। ठूलो ठूलो कुरा गरेर हिँडेको ऊसँग जीवनका साना कुरा छुटेका थिए।
मलाई लाग्यो — उसका लागि गतिलो जागिर पाउन सजिलो छैन।
तैपनि मैले भनेँ, ‘म कोसिस गर्छु।’ त्यसको एक–दुई महिनापछि एक बिहान ऊ फेरि मलाई भेट्न आयो र भन्यो, ‘मलाई काम देऊ काका।’
मैले सोधेँ, ‘के काम गर्छौ?’
उसले भन्यो, ‘रङ लगाउने काम गर्छु।’
देशलाई सप्तरंगी सपनाहरूले सजाउन कलिलै उमेरमा हिँडेको ऊ, त्यसपछि घर रंगाउने काममा लाग्यो। अलिक सुविस्तासँग कमाउन र गृहस्थी चलाउन थाल्यो। ऊ रङ लगाउने कामको ठेकेदार भयो।
ऊ त्यसपछि जमिनमा उभियो।
मुख्य कुरा— उसले आकाश धेरै टाढा छ भन्ने बुझ्यो। ऊ कल्पनाको चामत्कारिक उडानबाट वास्तविकताको धरातलमा आयो। मान्छे नै नबनी, महान बन्ने सपना देखेर बर्गेलिएको मेरो भतिज त्यसपछि मान्छे बन्ने प्रयत्नमा लाग्यो।
र, मान्छेलाई ईश्वर बनाउने प्रक्रियाबाट अलग भयो।
त्यो समयको एक जना नवयुवा जो समाजवाद आफैले ल्याएझैं गरेर आँधीसमान उत्साहित हुँदै पहिलो पटक मलाई भेट्न आएको थियो, जब जीवनको अपार सत्यसँग ठोक्किन आइपुग्यो, तब उसलाई थाहा भयो, त्यो क्रान्तिको त ऊ फगत एक मोहरा रहेछ। बादशाह अरू नै रहेछन्।
समयको झापड जब उसका गालामा परे, त्यसपछि उसले थाहा पायो — उसलाई जुन संसार आफैले जितेको घमण्ड थियो, त्यो संसार त उसले देखेको पनि रहेनछ। ऊ आफूलाई जुन परिवर्तनको चालक ठान्थ्यो, त्यो परिवर्तनभित्र उसको अस्तित्व फगत तिल बराबर रहेछ!
अहिले कतै हाम्रा जेनजी भाइबहिनीहरू पनि यस्तै भ्रमको सिकार त भइरहेका छैनन्?गत भदौ २३ र २४ गते जुन आँधी उनीहरूको सामुन्नेबाट गयो, अवश्य नै त्यसको एक हिस्सेदार उनीहरू हुन्। किनभने, उनीहरू सडकमा थिए। उनीहरू संघर्षमा थिए। उनीहरूले नै त्यहाँ नारा लगाएका थिए। उनीहरूमाथि सरकारले लाठी हानेको थियो, गोली चलाएको थियो। र, त्यो आन्दोलनमा जो ढले र सहिद भए, ती उनीहरू नै थिए।
तर त्यसपछि जे भयो र भइरहेको छ, के त्यो उनीहरूको निर्णयमा भएको हो? उनीहरूको स्वामित्वमा भएको हो? उनीहरूको पहलमा भएको हो? अहिले जो मन्त्री छन्, के उनीहरू जेनजीहरूले बनाएका हुन्? फागुन २१ गते निर्वाचन हुने जुन निर्णय भयो, के त्यो उनीहरूको निर्णय हो?
उनीहरूलाई लाग्ला — सुशीला कार्कीलाई उनीहरूले नै प्रधानमन्त्री बनाएका हुन्।
के वास्तविकता त्यही हो?
यी प्रश्नहरू म कुनै ‘कन्स्पिरेसी’ को सिद्धान्त अनुसार गरिरहेको छैन। म मात्र यो भनिरहेको छु कि, आन्दोलनपछि जे भयो र जे भइरहेको छ, त्यसको निर्णायक जेनजी होइनन्। उनीहरू त आन्दोलनका फगत उत्प्रेरकहरू हुन्।
तर उनीहरू जे होइनन्, त्यो थाहा नहुनु, अथवा उनीहरू जे हुन्, त्यो पनि थाहा नहुनु हाम्रा जेनजी अगुवाहरूले (सबै होइन, केही) भोगिरहेको आजको भ्रमपूर्ण वास्तविकता हो। यस्तो वास्तविकता (भ्रम) जुन आजभन्दा लगभग २० वर्षअघि माओवादी हुँदा मेरो भतिजले भोगेको थियो। हामीलाई आज युग हाँक्ने नयाँ पुस्ताका अब्बल नेताहरू चाहिएको छ। जसले पुराना पुस्ताका मान्छेहरूले भन्दा अझ गहिरोसँग यो देश चिनोस्, समाज चिनोस्, इतिहास चिनोस्, भविष्य चिनोस्, ज्ञानसँग साक्षात्कार गरोस्, हाम्रो सभ्यता चिनोस र मुख्यतः आफैलाई चिनोस्।
हाम्रा नवयुवाहरूले सोच्नुपर्ने छ — उनीहरू धीर, गम्भीर र गहिरो समुद्र बन्ने कि उर्लिँदो खहरे?
खहरे बन्ने धुनमा गडगडाउन त रमाइलै हुन्छ, तर जब भल सुक्छ, त्यतिखेर खहरेलाई कमिलाले पनि पत्याउँदैन।
अर्थात्, समय छुटेपछि छुट्यो, जसलाई फेरि हासिल गर्न सकिँदैन। नवयुवाहरूले समय छँदै आफूलाई चिनून्। समयको अदभूत मजा लिऊन्। र, भविष्यका लागि तयारी गरून्।
अन्यथा, आफू, आफ्नो जमिन र समयलाई नचिनी महान नेता बन्ने कुरा त के, योग्य मान्छे बन्ने प्रक्रिया पनि प्रारम्भ हुँदैन


