सप्तरीमा आगलागीबाट ९ लाख बराबरको क्षति भएको छ । हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १ कोशी ब्यारेजस्थित २ घरमा आगलागी हुँदा ९ लाख रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
स्थानीय बैजनाथ मण्डलको बाँसको टाटी र खरको छानोले बनेको फुसको गाईगोठमा बालेको घुरबाट मङ्गलबार राति २ बजेतिर सल्किएको आगोले मण्डलको एकवटा, बाख्रा जलेर मरेको र गोठसहित घरभित्र रहेको अन्नपात,लत्ताकपडा, भाँडाकुडा र काठपात समेत जलेर करिब ५ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
त्यसैगरी, सोही आगलागीबाट नजिकै घर भएका राधेश्याम मण्डलको टिनको छानो र बाँसको टाटीको घर पनि जलेर नष्ट भएको छ । उक्त घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुडा र काठपात जलेर करिब ४ लाख रुपियाँ बराबरको क्षति भएको बताइएको छ ।
आगलागीबाट ९ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
आगलागीबाट कुनै मानविय क्षति भने भएको छैन । स्थानीय बासिन्दा र नेपाल प्रहरीको सहयोगमा आगो करिब राति ३ः३० बजेतिर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

