काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एनएफसी (NFC) चिप प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली सुरु गरेको छ। यो प्रविधिले महानगरको प्रशासनिक सेवा र नागरिक जीवनलाई अझ स्मार्ट, छिटो र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
यस प्रणालीमार्फत ठेगाना खोज्ने, राजस्व संकलन, फोहर व्यवस्थापन, सेवा प्रवाह तथा आपतकालीन उद्धारका कामहरू सजिलो र द्रुत हुने महानगरले जनाएको छ।प्रत्येक घरको नम्बर प्लेटमा राखिएको QR कोड स्क्यान गरेर पाहुनाले डोर बेलको रूपमा प्रयोग गर्न सक्छन्। त्यस्तै, फोहर संकलनको जानकारी, सर्भे कार्य, र स्थानीय सूचनाको प्रवाह जस्ता कामहरू छिटो र न्यून लागतमा सम्पन्न गर्न सकिनेछ।
महानगरले यस प्रणालीलाई आपतकालीन अवस्थामा प्रकोप र उद्धार कार्यमा सहयोगी हुने बताएको छ। घटनास्थलमा छिटो पुग्न, राहत वितरण सहज बनाउन र नागरिकसँग सिधा सम्पर्क कायम गर्न यो प्रणाली महत्त्वपूर्ण माइलस्टोन सावित हुने विश्वास लिइएको छ।


