
अर्घाखाँची सन्धिखर्क–८ गाँजरी मा जन्मिएर नेपाल संग संगै अमेरिकामा पनि गीत–संगीतमा जम्न सफल कलाकार कमल सौरागले नयाँ म्युजिक भिडियो “दशैं तिहार आयो बरिलै” सार्वजनिक गरेका छन्।परदेशमा हुँदा दशैं–तिहारले जगाएको गाउँघरको माया, बाल्यकालका सम्झना र उत्सवको रौनकलाई गीतले जीवन्त देखाउन खोजेको छ । स्वरमा कमल सौरागलाई रूपी सिंजाली मगरले साथ दिएकी छन्।
गीतलाई बिमल अधिकारीले लेखेर संगीत भरेका हुन् भने सौरागकै संगीत संयोजनले परम्परागत धुनलाई आधुनिक लयमा मिसाएको छ। कुमार राणाको मिक्सिङ मास्टरिङले गीतलाई थप आकर्षक बनाएको छ।भिडियोमा बिमल अधिकारी, सलिना खतिवडा, अस्मिता राणापाल र ममता राना मगरको अभिनय देख्न सकिन्छ। मुकेश नेपालीको निर्देशन, राजेश घिमिरेको क्यामेरा, दिपक विष्टको सम्पादन र कविन खड्काको मेकअपले भिडियोलाई व्यावसायिक बनाएको छ।
कमल सौराग हाल अमेरिकाको बाल्टिमोरमा बस्दै आएका छन् र INAS मेरिल्याण्डका उपाध्यक्षसमेत छन्। आफ्नै यू एण्ड मी रेकर्डिङ स्टुडियो मार्फत निरन्तर सिर्जना गरिरहेका उनी परदेशी नेपालीको भावनासँग नजिक हुने गीत पस्कँदै आएका छन्।म्युजिक भिडियो “दशैं तिहार आयो बरिलै” ले यसपालि चाडपर्वको माहोललाई अझ रंगिन बनाउने कलाकार सौरागका शुभचिन्तकले विश्वास गरेको बताएका हुन्।
https://youtu.be/sgdS_jXIKHA?si=ZHqTJjgJUTBJLuYK



