आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

मातृ देवो भव ।
पितृ देवो भव ।।
गुरू देवो भव ।।।

वुवाको मुख हेर्ने दिन, जसलाई कुशेऔंसी पनि भनिन्छ, हिन्दु नेपाली समाजमा विशेष महत्व राख्ने पर्व हो । यो दिन भाद्र कृष्ण औंसीका दिन पर्ने गर्दछ र यसलाई विशेषगरी बाबुलाई सम्झने, आदर गर्ने र आफ्नो कर्तव्यबोध प्रकट गर्ने अवसरका रूपमा लिइन्छ ।


स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।

अर्थात्ः नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुशलाई हिन्दू धर्मावलम्बिहरुले महत्वकासाथ हेर्दछन्

कुश : वैज्ञानीक महत्व
वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भूमिका भएको पवित्र वनस्पती हो जसको वैज्ञानीक महत्व पनि प्रमाणीत भइसकेको छ । वैज्ञानीक भाषामा Eragrostis cynosuroides भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारीलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पती कुशको जराबाट बिभिन्न प्रकारका औषधीहरु पनि बनाइन्छ । परापूर्वकालमा पाठशालामा अध्यनरत शिष्यशिष्याहरुको परीक्षा लिने क्रममा कुशको धारीलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो, यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश भेला पार्न सक्छ उसलाई अव्बल मानिन्थ्यो । कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पती हो ।

धार्मिक मान्यता अनुसार यस दिन प्रत्येक परिवारमा कुश राख्ने चलन छ, जसलाई पवित्र र शुभ मानिन्छ । कुशलाई भगवान विष्णुको प्रतीकका रूपमा पूजा गर्ने गरिन्छ र यसैकारण यो औंसीलाई ‘कुशेऔंसी’ भनिएको हो । यो दिन पुत्रले आफ्नो बाबुको मुख हेरेर, उनको आशीर्वाद लिएर जीवनलाई सफल र मंगलमय बनाउन सकिन्छ भन्ने विश्वास रहिआएको छ

संस्कारले हाम्रो जिम्मेवारीलाई एकदमै सहज र सरल तरिकाले व्याख्या गरिदिएको छ । हाम्रो माता–पिताप्रतिको जिम्मेवारी हामीले उहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन् प्रगाढ बनाउँछ ।

नेपालभरका हिन्दु परिवारमा यो दिन बिहानै नुहाइधुवाइ गरेर, घर शुद्ध पारेर, पवित्रता कायम गरिन्छ । विशेषगरी नजिकै वा टाढा बस्ने सन्तानहरूले आफ्ना बाबुलाई भेट्न जाने, फलफूल, मिठाइ, कपडा वा आवश्यक सामग्री लिएर आदरपूर्वक भेट गर्ने परम्परा छ । बाबुको मुख हेर्ने दिनलाई सन्तानले आफ्नो जीवनमा पिता प्रतिको स्नेह, कृतज्ञता र सम्मान प्रकट गर्ने अवसरका रूपमा ग्रहण गर्छन् । यस दिन मात्र नभई वर्षभरि नै बाबुको सम्झना र सम्मान गर्नु जरुरी हुन्छ भन्ने सन्देश पनि यो पर्वले दिने गर्दछ ।

कुशेऔंसीसँग जोडिएको कथा अनुसार, भगवान विष्णुले समुद्रमन्थनका क्रममा अमृत निकाल्दा, कुशलाई आफ्नो आसन बनाएको जनविश्वास छ । कुशलाई घरमा राख्दा दैवीशक्ति प्रसन्न हुन्छन्, नकारात्मक ऊर्जा हट्छ र घरमा शान्ति, समृद्धि आउँछ भन्ने मान्यता रहिआएको छ । यसैले यो दिन घर–घरमा कुश ल्याएर देवता पूजा गर्ने गरिन्छ । त्यस्तै पितृश्राद्धको कार्य सुरु गर्ने दिनको रूपमा पनि यो दिनलाई मानिन्छ । यस दिनबाट पितृपक्ष सुरु हुने भएकाले आफ्ना दिवंगत पितृप्रति तर्पण, श्राद्ध र पिण्डदान गर्ने परम्परा पनि प्रचलित छ ।

धार्मिक ग्रन्थ र पुराणहरूमा बाबुलाई देवताको रूपमा चित्रण गरिएको पाइन्छ । बाबुलाई पितृदेवता भनिन्छ र उनको आशीर्वादबिना कुनै पनि कार्य सफल हुँदैन भन्ने विश्वास छ । त्यसैले यो दिन केवल जीवित बाबुको मुख हेर्ने दिन मात्र नभई दिवंगत पितालाई सम्झने, श्राद्ध गरेर श्रद्धाञ्जली अर्पण गर्ने विशेष पर्व पनि हो । कतिपय कारणवश बाबु टाढा भए वा बितिसकेका अवस्थामा तस्बिरमा नै बाबुको मुख हेर्ने, सम्झेर प्रार्थना गर्ने चलन पनि छ । यसरी हेर्दा यो पर्व केवल एकपटकको औपचारिकता नभई जीवनको नैतिक शिक्षा र संस्कारसँग गाँसिएको गहिरो सन्देश बोकेको छ ।
यो दिनका सामाजिक र सांस्कृतिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छन् । परिवारका सदस्यहरू भेला भएर बाबुसँग समय बिताउने, कथा–व्यथा सुन्ने र परिवारमा एकता तथा माया बढाउने अवसर यस दिनले दिन्छ । नयाँ पुस्ताले आफ्ना जरा, परम्परा र संस्कृतिलाई बुझ्ने अवसर पाउँछन् भने वृद्ध बाबुलाई सम्मान र आदर पाउनु उनको जीवनको अमूल्य खुशी हुन्छ । समाजमा बुढाबुढीलाई हेप्ने, हेपाइमा पार्ने प्रवृत्ति बढ्दै गएको बेला यस्ता पर्वहरूले सन्देश दिन्छन् कि बाबु आमाको सम्मान नै मानवताको सर्वोच्च कर्तव्य हो ।

कुशेऔंसीलाई नेपालका विभिन्न क्षेत्र र समुदायमा फरक–फरक तरिकाले मनाइन्छ । कतिपय स्थानमा ठूलो भोज, पारिवारिक जमघट र सामूहिक पूजापाठ हुने गर्दछ भने कतिपय स्थानमा केवल प्रतीकात्मक रूपमा बाबुलाई भेट्ने र पूजा गर्ने चलन छ । तर, जुनसुकै शैलीमा मनाइए पनि यसको मूल उद्देश्य एउटै हो—पिताको स्नेह र आशीर्वाद प्राप्त गर्नु र आफ्नो जीवनलाई कर्तव्यनिष्ठ बनाउन प्रेरित हुनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?