
- गृहमन्त्री सुधन गुरुङ तस्करी र भन्सार छली अनुगमनका लागि रसुवागढी नाका पुगेका छन्।
- रसुवा जाने क्रममा मन्त्री गुरुङ दुर्घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएका छन्।
- त्रिशूली नदीमा खसेको गाडी र चालकको खोजी कार्य जारी रहेको छ।
नेपाल–चीन सीमा नाका रसुवागढीमा पुगे गृहमन्त्री गुरुङ
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ नेपाल–चीन सीमा नाका रसुवागढी पुगेका छन् । आइतबार बिहान उनी रसुवागढी पुगेका हुन् । नाकामार्फत हुनसक्ने तस्करी र भन्सार छलीबारे छड्के जाँच गर्न मन्त्री गुरुङ शनिवार काठमाडौँबाट रसुवातर्फ लागेका थिए ।
मन्त्री गुरुङ आज स्याफ्रुवेशी हुँदै रसुवागढी नाकामा पुगेको रसुवामा कार्यरत एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । उनी बा.२ झ ४४६ नम्बरको गाडीमा रसुवा पुगेका हुन् ।
गुरुङ रसुवा जाँदै गर्दा शनिवार सडक दुर्घटना भएको थियो । गोसाइकुण्ड गाउँपालिका वडा नम्बर–५ स्थित पासाङ ल्हामु सडक खण्डमा स्याफ्रुबेसीबाट धुन्चेतर्फ आउँदै गरेको अनटेष्ट गाडी दुर्घटना भएको हो ।
चिलिमे हाइड्रोपावरको पावर हाउस नजिकै त्रिशूली खोलामा गाडी दुर्घटना भएको ठाउँमा मन्त्री गुरुङ पनि खोजी र उद्धारमा खटिएका थिए ।
भन्सार पास भएर आएको एसआरएम कम्पनीको गाडीका चालक रसुवाको कालिका गाउँपालिका घर भएका २२ वर्षीय सबिन तामाङ सम्पर्क विहीन छन् । नदीमा खसेको गाडी पनि नभेटिएको र खोजी कार्य भइरहेको रसुवाका डीएसपी अशोक थापाले रातोपाटीलाई जानकारी दिए ।

