
- व्यक्तिगत घटना दर्ता, कर भुक्तानी र कानुनको पूर्ण पालना गर्न नागरिकलाई आग्रह गरिएको छ।
- बालविवाह अन्त्य, शिक्षामा पहुँच र सार्वजनिक स्थानको सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ।
- चाडपर्वलाई सभ्य रूपमा मनाउँदै सामाजिक सद्भाव र विकास निर्माणमा सहयोग गर्न अपिल गरिएको छ।
विजयनगर गाउँपालिकाको जनचेतनामूलक अनुरोध : नागरिकलाई जिम्मेवार र सचेत बन्न आग्रह
कपिलवस्तु । विजयनगर गाउँपालिकाले नागरिकलाई जिम्मेवार, अनुशासित तथा कानुनको पालना गर्दै सभ्य समाज निर्माणमा सहयोग पुर्याउन आग्रह गरेको छ। गाउँपालिकाले सार्वजनिक गरेको सचेतनामूलक सन्देशमार्फत व्यक्तिगत घटना दर्तादेखि सामाजिक अपराध नियन्त्रण, शिक्षा, सरसफाइ तथा कर तिर्ने दायित्वसम्मका विषयमा सबै नागरिकको ध्यानाकर्षण गराएको हो।
गाउँपालिकाले जन्म, मृत्यु, बसाइँसराइ तथा सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घटनाहरू समयमै दर्ता गर्न अनुरोध गरेको छ। साथै, चाडपर्वहरूलाई भड्किलो नबनाई सादगी र खुसीका साथ मनाउन तथा चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधिप्रति सचेत रहँदै आपसी सद्भाव कायम राख्न आग्रह गरिएको छ।
त्यसैगरी विद्यालय जाने उमेर पुगेका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालय पठाउन, घर तथा भवन निर्माण गर्दा नक्सा पास गर्न, सडक अवरुद्ध हुने गरी निर्माण सामग्री नराख्न तथा खानेपानीका मुहानहरूको संरक्षण गर्दै वन–जंगल जोगाउन पनि गाउँपालिकाले अनुरोध गरेको छ।
गाउँपालिकाले बालविवाह सामाजिक अपराध भएकाले कानुनी उमेर नपुगी विवाह नगर्न तथा नगराउन विशेष अपिल गरेको छ। साथै, समयमै कर तिरेर आफ्नो नागरिक दायित्व पूरा गर्न पनि सबैमा आग्रह गरिएको छ।
विजयनगर गाउँपालिकाले नागरिकको सक्रिय सहभागिता, कानुनको पालना र सामाजिक उत्तरदायित्वबाट मात्र समुन्नत, सुरक्षित र सभ्य समाज निर्माण सम्भव हुने विश्वास व्यक्त गरेको छ।

