
- शितगंगा नगरपालिकाले व्यक्तिगत घटना समयमै दर्ता गर्न र तोकिएको समयमा कर तिर्न नगरवासीलाई आग्रह गरेको छ।
- सबै बालबालिकालाई विद्यालय पठाउन, बालविवाह रोक्न र घर निर्माण गर्दा नक्सा पास गर्न नगरले सचेत गराएको छ।
- वातावरण संरक्षण, सामाजिक सद्भाव कायम राख्न र सभ्य तवरले चाडपर्व मनाउन नगरपालिकाले सबै नागरिकसँग अपिल गरेको छ।
२०८२ फागुन १ गते प्रकाशित समाचार अर्घाखाँची
शीततगंगा नगरपालिकाको जनचेतनामूलक अनुरोध: नागरिकलाई समयमै दर्तादेखि कर तिर्नसम्मको अपिल
अर्घाखाँची। शितगंगा नगरपालिकाले नागरिकलाई लक्षित गर्दै विभिन्न जनचेतनामूलक सन्देश सार्वजनिक गरेको छ।
नगरपालिकाले व्यक्तिगत घटना दर्ता, शिक्षा, सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण तथा कर तिर्ने दायित्वलगायतका विषयमा सबै नगरवासीलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेको हो।
नगरपालिकाले जन्म, मृत्यु, बसाइँसराइ तथा सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घटनाहरू समयमै दर्ता गराउन अनुरोध गरेको छ। साथै चाडपर्वलाई भड्किलो नभई सभ्य, मर्यादित र खुसीका साथ मनाउन तथा चाडपर्वका बेला हुने आपराधिक गतिविधिप्रति सचेत रहँदै सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।
यस्तै, विद्यालय जाने उमेर पुगेका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालय पठाउन, घर तथा भवन निर्माण गर्दा नक्सा पास गर्न, सडक अवरुद्ध हुने गरी निर्माण सामग्री नराख्न तथा खानेपानीका मुहानहरू सफा राख्दै वन–जंगल संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न पनि नगरपालिकाले आग्रह गरेको छ।
नगरपालिकाले बालविवाह सामाजिक अपराध भएकाले कानुनी उमेर पुगेपछि मात्र विवाह गर्नुपर्ने सन्देश पनि दिएको छ। साथै प्रत्येक नागरिकलाई समयमै कर तिरेर आफ्नो नागरिक दायित्व पूरा गर्न अनुरोध गरेको छ।
शितगंगा नगरपालिकाले यस्ता जनचेतनामूलक सन्देशको पालना गरी सभ्य, सुरक्षित, शिक्षित र समृद्ध समाज निर्माणमा सबै नगरवासीले सहकार्य गर्नुपर्नेमा जोड दिएको छ।

