
- अर्घाखाँचीमा यही साउन महिनाभित्र सवारी नवीकरण र पटके सेवा सुरु हुने भएको छ।
- घरेलु तथा साना उद्योग कार्यालयमार्फत तत्कालका लागि यी सेवाहरू प्रदान गरिनेछ।
- यसबाट सेवाग्राहीले बाहिरका जिल्ला धाउनुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्।
साउनभित्रै अर्घाखाँचीमा सवारी नवीकरण र पटके सेवा सुरु हुने
लामो समयदेखि अर्घाखाँचीवासीले प्रतीक्षा गरेको यातायात सम्बन्धी आंशिक सेवा यही साउन महिनाभित्र सञ्चालनमा आउने भएको छ।
लुम्बिनी प्रदेश सरकारले अर्घाखाँचीसहित प्रदेशका विभिन्न जिल्लामा यातायात सेवा विस्तार गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ। यसअँघि लुम्बिनी प्रदेश सरकार र मुख्यमन्त्री कार्यालयले प्रदेशका १२ जिल्लामा यातायात सेवा विस्तार गरी सेवा सञ्चालन गर्ने घोषणा गरेपनि विभिन्न प्रशासनिक तथा प्राविधिक जटिलताले सेवा सुरु गर्न कठिनाई परेको हो ।
अहिले भने केही जिल्लामा सेवा सञ्चालनको प्रक्रिया अघि बढिसकेको छ भने अर्घाखाँचीमा पनि यही साउनभित्र कार्यालय सञ्चालनमा आउने तयारी गरिएको मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए। प्रदेश सरकारले तत्कालका लागी घरेलु तथा साना उद्योग कार्यालयमार्फत सवारी नवीकरण र पटकेको सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
यातायात सेवा जिल्लामै विस्तार भएपछि समय र खर्च दुवै बचत हुनुका साथै सेवाप्रवाहलाई थप सहज, छिटो र प्रभावकारी बनाउन मद्दत पुग्ने मुख्यमन्त्रीका स्वकीय सचिव प्रदिप नेपालीले बताए ।
‘तत्कालका लागी घरेलु कार्यालयबाट सवारी नविकरण र पटके सेवा सुरु गर्दैछौं,प्रदिपले भने,’कार्यालय सञ्चालनको औपचारिक मिति र सेवा प्रारम्भबारे छिटै जानकारी दिनेछौं ।’
अन्य सेवाहरु विस्तारै थपिंदै जानेपनि मुख्यमन्त्री कार्यालयले जनाएको छ । यसबाट सेवाग्राहीले बुटवल वा अन्य जिल्लामा पुगेर सवारी नवीकरण गर्नुपर्ने झन्झटबाट राहत पाउने विश्वास गरिएको छ

