
- कृष्णनगर नगरपालिकाले व्यक्तिगत घटना दर्ता समयमै गर्न र चाडपर्वमा सामाजिक सद्भाव कायम राख्न अनुरोध गरेको छ।
- सबै बालबालिकालाई विद्यालय पठाउन, भवनको नक्सा पास गरी निर्माण सामग्री सडकमा नराख्न नगरवासीलाई आग्रह गरिएको छ।
- बालविवाह नगर्न, वातावरणीय सरसफाइमा ध्यान दिन र समयमै कर तिरेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न अपिल गरिएको छ।
कृष्णनगर नगरपालिकाद्वारा नागरिकलाई नौ बुँदे सचेतनामूलक अनुरोध
कपिलवस्तु, कृष्णनगर नगरपालिकाले नागरिकलाई जिम्मेवार, सुरक्षित र कानुनसम्मत जीवनशैली अपनाउन आग्रह गर्दै नौ बुँदे सचेतनामूलक अनुरोध सार्वजनिक गरेको छ।
नगरपालिकाले जन्म, मृत्यु, बसाइँसराइ तथा सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घटनाहरू समयमै दर्ता गराउन, चाडपर्वलाई भड्किलो नभई सभ्य र खुसीपूर्वक मनाउन तथा चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधिप्रति सचेत रहँदै सामाजिक सद्भाव कायम राख्न सबै नगरवासीलाई अनुरोध गरेको छ।
त्यसैगरी विद्यालय जाने उमेर पुगेका सबै बालबालिकालाई विद्यालय पठाउन, घर तथा भवन निर्माण गर्दा अनिवार्य रूपमा नक्सा पास गर्न र सडक अवरुद्ध हुने गरी निर्माण सामग्री नराख्न पनि आग्रह गरिएको छ।
नगरपालिकाले बालविवाह सामाजिक अपराध भएकाले कानुनी उमेर पुगेपछि मात्र विवाह गर्न, खानेपानीका मुहानहरू सफा राख्न, वन–जंगलको संरक्षण गर्न तथा समयमै कर तिरी आफ्नो नागरिक दायित्व पूरा गर्न समेत अनुरोध गरेको छ।
नगरपालिकाले सार्वजनिक गरेको यस सचेतनामूलक सन्देशको पालना गरी जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न सम्पूर्ण नगरवासीसँग अपिल गरेको छ।

