नेपाल प्रेस खबर, बुद्धभुमी रुपन्देही:
आज नेपालमा सूर्योदय,बिहान ०६:२० बजे र सूर्यास्त,साँझ ०५:५७ बजे हुनेछ भने चन्द्रास्त, बिहान ०६:५५ बजे र चन्द्रोदय, साँझ ०६:३२ बजे हुनेछ।
मेष~ (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कल्पना र भावनामा रुमल्लिन सकिन्छ, तर आज कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो । कल्पना र भावना साकार हुने दिन हो । आफ्ना कुरा थोपर्नेमात्र होइन, लवमेटका कुरा सुनेमा पनि सन्तुष्टि लिन सकिने छ । भोगविलासका सरसामाग्रीको जोहो गर्ने इच्छा जाग्नेछ, त्यस्तै आज मनोरञ्जनात्मक र उच्छृङ्खल क्रियाकलापमा नजानिंदो आकर्षण बढ्ने दिन हो ।
बृष~ (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो । दाम्पत्यजीवन सुखद रहने एवं परिवारमा सुखशान्ति र सम्मृद्धि छाउने राम्रो समय छ, तर बुढाबुढी र बुजुर्ग सदस्यको भावनाको कदर गर्नुहोला । अध्ययन/अध्यापनका दृष्टिले कमजोर समय छैन, मिहिनेतको उत्कृष्ट नतिजा मिल्नेछ, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ ।
मिथुन~ (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिश्रमको प्रतिफल पाउने समय हो, यसबाट तपाईंको शक्ति र प्रतिष्ठामा बृद्धि हुनसक्छ । आफ्नो आन्तरिक ऊर्जा र मानसिक क्षमतालाई उपयोग गर्नुहोस्, कुनै पनि समस्यालाई सजिलै समाधान गर्न सक्नुहुन्छ । कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ, त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ ।
कर्कट ~(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चित्रकला, साहित्य, सञ्चारमाध्यम, रङ्गमञ्च, नाटक आदि क्षेत्रमा आकर्षण र लगनशीलता बढ्ने दिन हो । नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ, सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् । आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । पतिपत्नीमा एक किसिमको समझदारी कायम हुने दिन हो ।
सिंह ~(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो रुचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खूबी र क्षमताको पहिचान हुने समय छ । निर्णयात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नुहोस्, सफलता मिल्नेछ । आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ ।
कन्या ~(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, बढी खर्च हुने परिस्थिति छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्छ । कुविचार, भ्रम, चिन्ता र शङ्का मँडारिने समय छ, त्यसैले लक्ष्यप्रति सचेत हुनुपर्छ, सानातिना र बेकारका कुराहरूमा अलमलिनु राम्रो होइन । नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुरा नबताउनु होला, नत्र बेकारको अफवाह फैलने डर हुन्छ ।
तुला~ (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान/प्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ । बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो, सहयोगी र मित्रवर्गको साथ जुटाउनसके महत्त्वपूर्ण उपलब्धि लिन सकिने छ ।
बृश्चिक~ (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो । व्यवसायिक कामको चाप बढ्नसक्छ अथवा कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । काममा सहयोगी, नोकरचाकर वा अनुयायीको सहयोग लिन सकिने समय छ । घरखाँचो टार्न व्यवस्थापन गर्ने दिन हो, केही खर्चबर्च जुटाउनुपर्ने हुन्छ ।
धनु ~(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पार्टनरको रचनात्मक क्रियाकलापले एउटा नौलो प्रेरणा प्राप्त हुनेछ । कामधन्दा तपाईंको तनावको विषय बन्नसक्छ । सकेसम्म प्रेम र रोमान्सका लागि समय निकाल्नुहोला । बौद्धिक क्रियालाप र आध्यात्मिक पक्षमा आकर्षण देखापर्नसक्छ । प्राविधिक विषयवस्तु र आधुनिकतम ज्ञानका क्षेत्रमा सक्रियता जनाउने समय छ । धार्मिक/सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन ।
मकर~ (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जीवनसाथी वा परिवारका सदस्यसँग ठास्सठुस्स र मतभेद बढ्ने समय हो । आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ । किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ । कसैको चित्त दुखाएर फाइदा लिने कोशिस गर्नुहुँदैन, दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । हतारमा लिएको निर्णय गलत हुनसक्छ, त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो ।
कुम्भ~ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ । जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ । आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थिति छ ।
मीन ~(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पार्टनरसँग दूरी बढ्दामात्र उसको महत्त्व कति छ भन्ने आभास हुने दिन हो, स्वास्थ्यगत कमजोरीले पनि रोमान्टिक जीवन प्रभावित बन्नसक्छ । घरायसी सुखको आकाङ्क्षा बढ्ने समय हो । मन भावुक र प्रेमिल बन्ने वातावरण छ । समय निकालेर घरपरिवारमा सम्पर्क गर्नु र खैखबर बुझ्नु राम्रो हुन्छ । स्वास्थ्यक्षेत्र, काठपात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानीसम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने हुन्छ ।
ज्योतिष;
आचार्य पवित्र :९८६७२७८८०२

