एमाले अर्घाखाँचीको ‘नौं विकास र नौं नीति’ सहितको प्रतिबद्धता

अर्घाखाँची : नेकपा एमाले अर्घाखाँचीले ‘नौं विकास र नौं नीति’ समेटिएको चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार पिताम्वर भुसालले सदरमुकाम सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा किसानलाई निवृत्तिभरण उपलब्ध गराउने, कृषि उपजको बजारीकरणको ग्यारेन्टी गर्ने तथा न्यूनतम समर्थन मूल्य तोकी सरकारले नै खरिद गर्ने लगायतको प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।  

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै कृषक, युवा, विद्यार्थी, उद्यमी तथा आम नागरिकको जीवनस्तर उकास्ने स्पष्ट कार्ययोजना अघि सारेका हुन् । पत्रकार सम्मेलनमा उम्मेदवार भुसालले कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्न किसान निवृत्तिभरण कार्यक्रम लागू गरिने बताएका छन् । उनले कृषि उपजले बजार नपाएर किसान निराश हुनुपर्ने अवस्था अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै न्यूनतम समर्थन मूल्य निर्धारण गरी सरकारले नै खरिद गर्ने व्यवस्था गरिने उल्लेख गरे । 

प्रतिबद्धता पत्रमा अधुरा भौतिक पूर्वाधारहरूको शीघ्र पूर्णता प्राथमिकतामा राखिएको छ । सडक, पुल, सिंचाइ, विद्यालय भवन तथा स्वास्थ्य संस्थाका संरचनाहरूलाई निर्धारित समयमै सम्पन्न गर्ने योजना प्रस्तुत गरिएको छ । 

त्यस्तै स्वच्छ खानेपानीका लागि ‘एक घर, एक धारा’ सुनिश्चित गरिने उल्लेख छ । स्वास्थ्य क्षेत्रतर्फ अस्पतालहरूमा दक्ष जनशक्ति, अत्याधुनिक उपकरण र आवश्यक भौतिक पूर्वाधारको सुनिश्चितता गरिने तथा दिगो स्वास्थ्य बीमा कार्यक्रममार्फत गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच दिलाइने नीति समेटिएको छ ।

शिक्षा क्षेत्रमा सरोकारवालको हितमा वैज्ञानिक तथा जनपक्षीय शिक्षा ऐन निर्माण गर्ने, प्रत्येक पालिकामा शैक्षिक परामर्श केन्द्रसहितको सुविधा सम्पन्न आवासीय स्रोत विद्यालय विकास गर्ने, प्रत्येक विद्यालयमा विद्यालय नर्सको व्यवस्था गर्ने तथा गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गर्ने योजना अघि सारिएको छ । यससँगै जिल्ला सदरमुकाम र प्रदेश निर्वाचन क्षेत्रमा सुविधा सम्पन्न रंगशाला निर्माण गरी खेलकूद क्षेत्रको विकास गरिने उल्लेख गरिएको छ ।

युवा लक्षित कार्यक्रमअन्तर्गत प्रत्येक पालिकामा ‘रिटर्नी उद्यमशीलता केन्द्र’ स्थापना गरिनेछ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सीप, पूँजी र परामर्श उपलब्ध गराई स्वदेशमै उद्यम गर्न प्रोत्साहित गर्ने योजना प्रस्तुत गरिएको छ ।  भूमि बैंक स्थापना, युवा स्वरोजगार र ‘गाउँ फर्क अभियान’ मार्फत उत्पादन र रोजगारी सृजनामा जोड दिइने बताइएको छ । सरकारी सेवामा लाइन होइन अनलाइन सेवा प्रवाह गर्ने नीति अवलम्बन गरी सेवाग्राहीमैत्री प्रशासन निर्माण गर्ने प्रतिबद्धता पनि उल्लेख छ ।

ऊर्जा र पर्यटन क्षेत्रलाई समेत प्राथमिकतामा राख्दै जनताको साझेदारीमा नौमुरे जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्ने घोषणा गरिएको छ । धार्मिक, सांस्कृतिक र पर्यापर्यटन प्रवद्र्धन गर्न पर्यटन सर्किट निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । वन्यजन्तु नियन्त्रण तथा बाली संरक्षण नीति लागू गरी किसानको बाली जोगाउने, साथै भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गरी पारदर्शी र उत्तरदायी शासन व्यवस्था स्थापना गर्ने प्रतिबद्धता रहेकोे छ ।

उम्मेदवार भुसालले अर्घाखाँचीको समग्र विकास, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि प्रस्तुत प्रतिबद्धता पत्र कार्यान्वयनमुखी रहेको दाबी गर्दै मतदातासँग विश्वासको मत मागेका छन् । पत्रकार सम्मेलनमा सहभागी नेताहरूले प्रस्तुत कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य, युवा तथा पूर्वाधार विकासमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए ।

स्रोत अन्नपूर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?