काठमाडौं
नेकपा (जनपक्ष) का प्रवक्ता क. दिनेश,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटिकल ब्यूरो सदस्य कमरेड दिनेश शर्मा सहित जनपक्षीय ट्रेड युनियन महासंघका अध्यक्ष क. कुमार, महासचिव क. राजेन्द्रसहित विभिन्न जनपक्षीय संगठनका नेताहरू पक्राउ परेपछि राजनीतिक तथा जनआन्दोलनका मोर्चामा तीव्र आक्रोश फैलिएको छ। यसअघि वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष क. हिमांसु, केन्द्रीय सदस्य अच्युत कालिकोटे तथा क्रान्तिकारी दलित मुक्ति मोर्चाका केन्द्रीय संयोजक टेकबहादुर विकलाई काठमाडौंको कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको संगठनहरूको दाबी छ।
यसैक्रममा, आज ललितपुरमा भएको मशाल जुलुसका क्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेताहरू क. बुद्धलक्ष्मी महर्जन, क. फूलमती, क. बमबहादुर विश्वकर्मा, क. साया किरण, क. सरल तथा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता क. शिव घिमिरे लाई समेत पक्राउ गरिएको जानकारी संगठनहरूले दिएका छन्।
संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न कम्युनिस्ट तथा जनपक्षीय संगठनहरूले यी सबै गिरफ्तारीलाई
“शान्तिपूर्ण राजनीतिक गतिविधिमाथिको खुला दमन र लोकतान्त्रिक अधिकारमाथिको प्रहार” भनेका छन्। उनीहरूको भनाइमा, जनताको माग दबाउन सरकारले डर र आतंकको नीति अपनाइरहेको छ।
विज्ञप्तिमा स्पष्ट भनिएको छ-
“गिरफ्तार सम्पूर्ण कमरेडहरूलाई स-सम्मान तत्काल रिहा नगरिएसम्म संघर्षका कार्यक्रम अझ सशक्त र व्यापक बनाइनेछ। जनआवाजलाई लाठी र जेलले दबाउन सकिँदैन।”
छ कम्युनिस्ट पार्टीको संयुक्त संघर्ष समितिले वर्तमान सुशीला सरकारलाई ‘अलोकतान्त्रिक कठपुतली सरकार’ को संज्ञा दिँदै सत्ता तत्काल छोड्नुपर्ने माग दोहोर्याएका छन्। उनीहरूको आरोप छ कि सरकार श्रमिक, विद्यार्थी, दलित र उत्पीडित समुदायका मुद्दा उठाउने शक्तिमाथि योजनाबद्ध दमनमा उत्रिएको छ।
यसै सन्दर्भमा, सबै जनपक्षीय संगठनहरूले
पौष २९ गते काठमाडौं उपत्यकाव्यापी शान्तिपूर्ण बन्द सफल पार्न
आम जनता, विद्यार्थी, श्रमिक र सचेत नागरिकहरूलाई एकताबद्ध भएर आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्। उनीहरूले यो बन्द राजनीतिक बन्दीहरूको रिहाइ, जनपक्षीय अधिकारको रक्षा र जनविरोधी शासनको अन्त्यका लागि निर्णायक दबाबको माध्यम बन्ने बताएका छन्।
मशाल जुलुस र शान्तिपूर्ण आन्दोलनमाथि दमन,
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)

