विदेशी पर्यटकलाई उद्धार गरिएको देखाएर बीमा रकम ठगी गरिएको ‘फेक रेस्क्यू’ प्रकरणमा थप एक जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले श्रीद्धी अस्पतालका सञ्चालक ४४ वर्षीय डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको हो। यससँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या सात पुगेको छ।
सीआईबीका अनुसार नक्कली उद्धार र अस्पतालमा उपचार गराएको झुट्टा कागजात तयार गरी बीमा रकम असुल्ने कार्यमा श्रीद्धी अस्पतालको समेत संलग्नता देखिएपछि तिमिल्सिनालाई नियन्त्रणमा लिइएको हो। पर्वतको मोदी गाउँपालिका–२ घर भएका तिमिल्सिनाले आफ्नो अस्पतालमा उपचार गराएको देखाएर कागजात बनाइ बीमा रकम दाबी गरिएको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ।
यसअघि सीआईबीले माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसीलाई पक्राउ गरिसकेको थियो। उनीहरू सबै हाल हिरासतमै छन्।
अनुसन्धानका क्रममा चार्टर फ्लाइट र नियमित उडानलाई समेत उद्धार देखाएर बीमाको रकम ठगी गरिएको पाइएको छ। त्यसका लागि उद्धारको समयतालिका, यात्रु विवरण र अन्य कागजात नक्कली बनाइएको सीआईबीका एआईजी डा. मनोज केसीले जानकारी दिएका छन्।
फेक रेस्क्यु सम्बन्धी उजुरी पछिल्लो पटक १ पुस २०८१ मा सीआईबीमा दर्ता भएको थियो। यसअघि पनि १२ असोज २०८२ मा यस्तै उजुरी परेको थियो भने गृह मन्त्रालयले समेत यस विषयमा छानबिन गर्न सीआईबीलाई पत्राचार गरेको थियो। सीआईबीले सन् २०२२ देखि यता भएका नक्कली उद्धार घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।
अहिलेसम्मको अनुसन्धानबाट तीन कम्पनीले मात्रै ३१७ जना पर्यटकको नक्कली उद्धार गरेको देखिएको छ। माउन्टेन रेस्क्यु सर्भिस प्रालिले २०२२ देखि २०२५ सम्म १ हजार २४८ पर्यटकको उद्धार गरेको दाबी गरे पनि तीमध्ये १७१ वटा उद्धार नक्कली पाइएको छ। सोही माध्यमबाट कम्पनीले बीमा वापत १ करोड ३ लाख १० हजार २७६ अमेरिकी डलर असुलेको देखिएको छ।
त्यसैगरी नेपाल चार्टर सर्भिसले ४१७ जनाको उद्धार गरेको देखाए पनि तीमध्ये ७५ वटा नक्कली भएको र त्यसबापत ८२ लाख ३४ हजार ८२ अमेरिकी डलर लिएको पाइएको छ। एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिले ६०१ जनाको उद्धार गरेको दाबी गरेकामा ७१ जना पर्यटकको उद्धार नक्कली रहेको र त्यसबाट ११ लाख ५३ हजार ९१९ अमेरिकी डलर लिएको सीआईबीले जनाएको छ।
सीआईबीका अनुसार प्रारम्भिक अनुसन्धानबाट मात्रै यी तीन कम्पनीले नक्कली उद्धारमार्फत बीमा वापत १९.६९ मिलियन अमेरिकी डलर ठगी गरेको देखिएको छ। यो प्रारम्भिक विवरण मात्र भएको र अनुसन्धान अझै विस्तार हुन सक्ने सम्भावना रहेको सीआईबीले जनाएको छ।


