अनुशासनलाई यातना ठान्ने प्रवृत्ति: शिक्षाको मुख्य चुनौती✍️दुर्गाप्रसाद खनाल

दुर्गाप्रसाद खनाल
बुद्ध ज्योति माध्यमिक बिद्यालय
देउखुरी दाङ।

नेपालको समसामयिक शैक्षिक परिवेशमा एउटा अस्वस्थ तर तीव्र रूपमा फैलँदो प्रवृत्ति देखिन थालेको छ। “अनुशासनका सामान्य अपेक्षालाई नै ‘यातना’को रूपमा व्याख्या गर्ने संकुचित सोच।”
गृहकार्य मागियो भने ‘यातना’, समयमै विद्यालय आउन आग्रह गरियो भने ‘यातना’, विद्यालय पोसाकमा अनुशासन चाहियो भने ‘यातना’, कपाल व्यवस्थित राख भन्नु वा आचारसंहिता सम्झाउनुलाई पनि ‘यातना’ भन्नेहरूको संख्या बढ्दै जानु शैक्षिक क्षेत्रका लागि चिन्ताको विषय हो।

शिक्षकले गल्ती सुधार्न कडाइपूर्वक सुझाव दिए पनि त्यसलाई ‘दुव्र्यवहार’का रूपमा व्याख्या गरिँदैछ।
यसले प्रश्न उठाउँछ अनुशासनलाई व्यवस्थापन गर्ने शिक्षक गलत कि अनुशासनलाई असह्य ठान्ने मानसिकता नै गलत?

पछिल्लो समय घरको वातावरणले जन्माएको असहजता विद्यालयमा थोपारिँदै छ। विगत केही वर्षमा अभिभावकत्वको भूमिकामा नै उल्लेख्य परिवर्तन देखिन्छ।
बच्चाहरू रातभर मोबाइलका खेलमा डुब्ने, बिहान ढिलो उठ्ने, गृहकार्य र अध्ययनप्रति उदासीन हुने जस्ता व्यवहार घरमै स्थापित हुन्छन्।
तर जब त्यही व्यवहार विद्यालयमा समस्या सिर्जना गर्छ, अभिभावक स्वयंले बच्चालाई दोषमुक्त बनाउने प्रयास गर्छन्।
“सन्चो छैन, उठेन, आज स्कुल आउन सकेन” भन्ने फोनहरू शिक्षकलाई थकित तुल्याउने प्रमुख कारक बनेका छन्।
यो प्रवृत्ति केवल विद्यालयको अनुशासनलाई कमजोर बनाउँदैन; अभिभावकको जिम्मेवारीबोधलाई पनि प्रश्नमा पार्छ।

विद्यालय: सुधारगृह होइनन् विद्यालयहरू अनुशासन, मूल्य र कौशल सिकाउने औपचारिक संस्थाहरू हुन्। शिक्षकहरू शिक्षणका संवाहक, राष्ट्रका भविष्य निर्माताहरू हुन्।
तर केहीले विद्यालयलाई सुधारगृहको रूपमा हेर्दा, शिक्षकलाई ‘केयरटेकर’ जस्तै व्यवहार गर्दा, शिक्षाको नै गरिमा खुम्चिएको छ।

शैक्षिक अनुशासनको मूलभूत स्वरूप समयपालन,पोसाक तथा कपालमा अनुशासन,गृहकार्य पालन,शिक्षक अभिभावकको सम्मान, आचारसंहिताको पालन जस्ता कुराहरू कुनै दमनका शैली होइनन्।
यी त जीवन–व्यवस्थापनका आधारभूत सीप हुन्, जसले विद्यार्थीलाई भविष्यको जिम्मेवारीका लागि तयार पार्छ।
यिनलाई ‘यातना’ भन्नु शिक्षाको उद्देश्यमा नै प्रश्न खडा गर्नु हो।

सहकार्य नै दीर्घकालीन समाधान,
शिक्षामा सुधार केवल विद्यालयबाट मात्रै सम्भव हुँदैन अभिभावक र शिक्षकको सहकार्य बिना शिक्षा पूर्ण हुँदैन।
विद्यालयले दिनभर सिकाएको मूल्य, अनुशासन र चरित्रलाई रातभर अभिभावकले भत्काइदिने हो भने बालबालिकाबाट उत्तरदायित्व अपेक्षा गर्नु व्यर्थ हुन्छ। अभिभावकले आफ्ना बच्चामा देखिने कमजोरीलाई छोप्ने होइन, सही मार्गदर्शन गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्छ। शिक्षकलाई अनावश्यक दोषी ठहर्याइने संस्कृतिले न त विद्यार्थीलाई फाइदा पुर्‍याउँछ, न त समाजलाई।

अन्त्यमा,
अनुशासन ‘यातना’ होइन यो जीवनयापनको महत्त्वपूर्ण उपकरण हो। विद्यालय र शिक्षकप्रति अनावश्यक शंका, आलोचना वा आरोप लगाउने अभ्यास रोकिएन भने शिक्षाको आधारभूत संरचना नै कमजोर बन्छ। हामीले यदि उत्तरदायी, विवेकी र अनुशासनप्रिय नागरिक जन्माउन चाहन्छौं भने घर र विद्यालयबीचको विश्वास र भूमिकाको स्पष्टता पुनःस्थापित गर्नैपर्छ। बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न अभिभावक र शिक्षक दुवैको साझा प्रयत्न अपरिहार्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?