शिक्षण–सिकाइमा मनोविज्ञानको उपयोग
✍️तेजप्रसाद खनाल लमही दाङ
परिचय:
शिक्षण सिकाइ मानव जीवनको अत्यन्तै महत्त्वपूर्ण प्रक्रिया हो। यस प्रक्रियाले ज्ञान, सीप, व्यवहार र सोँचाइमा परिवर्तन ल्याउँछ। विद्यार्थी कसरी सिक्छन्, शिक्षकले कसरी प्रभावकारी रूपमा पढाउन सक्छन् भन्ने कुरा बुझ्न मनोविज्ञानले ठूलो भूमिका खेल्दछ। शिक्षण सिकाइको सफलता शिक्षकले विद्यार्थीको मनोवैज्ञानिक अवस्था बुझेर पाठ योजनालाई अनुकूल बनाउन सक्ने क्षमतामा निर्भर रहन्छ। त्यसैले शिक्षाशास्त्र र मनोविज्ञानबीच गहिरो सम्बन्ध रहेको छ। विद्यार्थीको उमेर,रुचि,तह र स्तर अनुरुप शिक्षण गर्नुपर्ने कुरा मनोविज्ञानले सुझाउँछ। शिक्षण सिकाइमा पुरस्कार र दण्डको भूमिका महत्त्वपूर्ण हुने तर दण्डको तुलनामा पुरस्कार नै बढी प्रभावकारी हुने कुरा पनि मनोविज्ञानले सिकाउने हुँदा शिक्षण सिकाइमा मनोविज्ञान महत्त्वपूर्ण छ। कक्षाकोठा व्यवस्थापन, मूल्याङ्कन प्रणाली, पाठ्यक्रम, शिक्षण सिकाइ प्रक्रिया, आदि विविध कुराहरुको बारेमा मनोविज्ञानले व्यापक चर्चा गरेको हुँदा एक कुशल शिक्षक, एक कुशल अभिभावकको लागि मनोविज्ञानको अध्ययन महत्त्वपूर्ण छ।
मनोविज्ञान भन्नाले “मानवको व्यवहार र मानसिक प्रक्रियाको वैज्ञानिक अध्ययन” हो। यसले मानिसको सोच, भावना, बुझाइ, प्रेरणा र व्यवहारलाई अध्ययन गर्छ।शिक्षण मनोविज्ञान भनेको शिक्षण सिकाइ प्रक्रियामा लाग्ने मानिस मूलत:शिक्षक र विद्यार्थीका व्यवहार, रुचि, क्षमता, भावना, प्रेरणा र परिस्थिति अध्ययन गर्ने मनोविज्ञानको एउटा शाखा शिक्षा मनोविज्ञान हो। जसलाई शैक्षणिक मनोविज्ञान पनि भनिन्छ।
शिक्षण सिकाइमा मनोविज्ञानको उपयोग:
शिक्षण सिकाईमा मनोविज्ञानको उपयोगिता वा महत्त्वपूर्णको सन्दर्भलाई छोटकरीमा प्रस्तुत गर्ने जमर्को गरिएको छ। जुन निम्नानुसार छ:
१. विद्यार्थीको व्यक्तिगत भिन्नता बुझ्न
प्रत्येक विद्यार्थीको क्षमता, रुचि, बुद्धि, र सिक्ने शैली फरक हुन्छ। मनोविज्ञानले यी भिन्नतालाई बुझ्न सहयोग गर्छ, जसअनुसार शिक्षकले शिक्षण विधि र सामग्री तय गर्न सक्छ।
२. प्रेरणा (Motivation) जगाउन
सफल सिकाइका लागि विद्यार्थीमा सिक्ने चाहना जगाउनुपर्छ। मनोविज्ञानले विद्यार्थीलाई आन्तरिक र बाह्य रूपमा प्रेरित गर्ने तरिका बताउँछ। उदाहरणका लागि, प्रशंसा, पुरस्कार, सफलताको अनुभव आदिबाट विद्यार्थीमा उत्साह बढाइन्छ।
३. सिकाइको प्रक्रिया बुझ्न
मनोविज्ञानले सिकाइ कसरी हुन्छ भन्ने बारे सिद्धान्त (जस्तै: व्यवहारवाद, संज्ञानवाद, र निर्माणवाद) मार्फत स्पष्ट पारेको छ। यी सिद्धान्तले शिक्षकलाई उपयुक्त विधि रोज्न मद्दत गर्छन्।
४. उपयुक्त कक्षा व्यवस्थापन गर्न
मनोविज्ञानले समूह व्यवहार, अनुशासन र सामाजिक सम्बन्धका सिद्धान्त बुझाएर शिक्षकलाई प्रभावकारी रूपमा कक्षा सञ्चालन गर्न सहयोग पुर्याउँछ।
५. मूल्याङ्कन र शिक्षण सिकाइ सुधार गर्न
विद्यार्थीको सिकाइ उपलब्धि कस्तो छ भन्ने थाहा पाउन मनोवैज्ञानिक परीक्षण र मूल्याङ्कन विधि प्रयोग गरिन्छ। यसले शिक्षकलाई सिकाइ सुधार गर्न दिशानिर्देश दिन्छ।
६. समस्या समाधान र परामर्शमा सहयोग
विद्यार्थीमा उत्पन्न हुने भावनात्मक, सामाजिक वा अध्ययनसम्बन्धी समस्या समाधानका लागि मनोवैज्ञानिक सल्लाह र परामर्श आवश्यक पर्छ।
७. सिकाइलाई रुचिपूर्ण बनाउन
मनोविज्ञानको ज्ञान भएको शिक्षकले प्रजातान्त्रिक ढङ्गबाट बालमैत्री सिकाइ गर्ने हुँदा सिकाई रुचिकर हुन्छ। विद्यार्थीले आफूलाई निखार्ने मौका पाउँछन्।
८. पाठ्यक्रमका लक्ष्यहरु पूरा गर्न
तहअनुरुप विभिन्न पाठ्यक्रम निर्माण भएका हुन्छन्। त्यसमा पनि विषयगत अलगअलग पाठ्यक्रमहरु निर्माण गरिएको हुन्छ। ती पाठ्यक्रमले राखेका अपेक्षा पूरा गर्नमा मनोविज्ञानले महत्त्वपूर्ण सहयोग पूर्याएको हुन्छ।
९. सिकाइलाई व्यबहारिक बनाउन
सिकाइ मात्र किताबी ज्ञान होइन यो त व्यबहारिक ज्ञान हो। कोरा किताबी ज्ञान मात्र नभई सिकाइलाई प्रयोगात्मक र व्यबहारिक बनाउन पनि मनोविज्ञानको अध्ययन महत्त्वपूर्ण छ।
१० विद्यार्थी शिक्षक र अभिभावक बिच सुमधुर सम्बन्ध कायम गर्न
मनोविज्ञानको अध्ययन गरेको शिक्षक शैक्षणिक क्षेत्रमा धेरै जानिफकार रहने हुँदा उसको शिक्षण सिकाई क्रियाकलाप, विद्यार्थीसँगको सम्बन्ध, अभिभावकसँगको सम्बन्ध राम्रो हुने हुँदा त्रिपक्षीय सम्बन्ध राम्रो बनाई सिकाइ उपलब्धि हासिल गराउन मनोविज्ञान महत्त्वपूर्ण छ।
११. पाठ्यक्रमलाई समयसापेक्ष बनाउन
मनोविज्ञानले पाठ्यक्रम कस्तो हुनुपर्ने, पाठ्यक्रमलाई के कसरी समय सापेक्ष बनाउने भन्ने विषयमा महत्त्वपूर्ण सुझाव दिने हुँदा शिक्षक , अभिभावक देखि पाठ्यक्रम निर्माणको तहसम्म मनोविज्ञान महत्वपूर्ण छ।
निष्कर्ष तथा सुझाव:
मनोविज्ञान शिक्षण सिकाइको मेरुदण्ड हो। यसले शिक्षकलाई विद्यार्थीको उमेर,सोँच, व्यवहार र क्षमता बुझ्न मद्दत गर्छ, जसले शिक्षणलाई प्रभावकारी र व्यवहारिक बनाउँछ। शिक्षकले मनोवैज्ञानिक सिद्धान्त र विधिहरू अपनाउँदा विद्यार्थीको सिकाइ स्थायी, रोचक र सफल हुन्छ। अतः शिक्षण सिकाइमा मनोविज्ञानको प्रयोग अनिवार्य र अत्यावश्यक पक्ष हो। मनोविज्ञानको अध्ययन ज्ञान र यसको प्रयोग बिना शिक्षण सिकाई उपलब्धिमूलक र सार्थक बन्न सक्दैन। त्यसकारण शिक्षण सिकाइमा मनोविज्ञानको प्रयोग महत्त्वपूर्ण र अकाट्य छ। त्यसैले शिक्षकले मनोविज्ञानको अध्ययन गर्नु अपरिहार्य छ। अस्तु। 🙏



