काठमाडौँ । लामो समयदेखि सार्वजनिक चासोको केन्द्र बनेको नक्कली भुटानी शरणार्थी प्रकरण अब अन्तिम टुंगोको चरणमा प्रवेश गरेको छ । जिल्ला अदालत काठमाडौँमा आजदेखि यस मुद्दाको अन्तिम बहस सुरु हुँदैछ ।
यो मुद्दामा एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँणसहित ३१ जना संलग्न देखिएका छन् । दुई वर्षदेखि थुनामा रहेका रायमाझी र धरौटीमा छुटेका खाँणमाथि अमेरिकामा नक्कली भुटानी शरणार्थी बनाएर पठाउने योजनामा संलग्न रहेको अभियोग छ ।
पछिल्लो समय साक्षी बयान र बकपत्रसम्बन्धी सम्पूर्ण प्रक्रिया सकिएपछि अदालतले आजदेखि अन्तिम सुनुवाइ सुरु गर्ने तय गरेको हो । अदालतले यो मुद्दालाई साप्ताहिक पेशी सूचीमा राख्दै निरन्तरता दिने संकेत गरेको छ।
रायमाझी पक्षका कानुन व्यवसायीले भने, “यदि कुनै असाधारण कारण नआएमा सुनुवाइ निरन्तर अघि बढ्नेछ र अन्तिम फैसला यही चरणमै आउने अपेक्षा छ।”यससँगै दुई वर्षदेखि अल्झिएको चर्चित नक्कली भुटानी शरणार्थी प्रकरण अब छिट्टै निष्कर्षमा पुग्ने कानुनी विश्लेषकहरूको आकलन छ ।


