जनकपुरमा भइरहेको दुई समुदायबीचको झडपको क्रम अझै रोकिएको छैनन् । आईतबार भएको झडपमा प्रहरीले गोली चलाउँदा एक युवकलाई गोली लागेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० को देवपुरा रुपैठामा सहमति विपरित मुस्लिम समुदायले ईस्लामिक झण्डा लगाएपछि सुरु भएको विवाद झडपमा परिणत भएको थियो । शनिबार गणेश मूर्ति विसर्जनको क्रममा सार्वजनिक पोलमा लगाइएको ईस्लामिक झण्डा हटाउने क्रममा झडप हुँदा मुस्लिम समुदाय एक जना अस्पताल भर्ना भए ।
दोस्रो दिन हिन्दु समुदायका व्यक्तिहरुले चौतर्फी घेराबन्दी गरेपछि मोटो सँख्यामा प्रहरी परिचालन गरिएको थियो । आईतबार कुनै समुदायले झण्डा लगाउन नपाउने सहमति पश्चात ईस्लामिक झण्डा हटाइएको थिया । त्यसपछि भगवा झण्डा हटाउन थालेपछि हिन्दु समुदायका व्यक्तिहरुले विरोध जनाएपछि झडप भएको थियो ।
झडपको क्रममा प्रहरीले पसल, घरमा पसेर निर्घात कुटपिट गरी कैयौँलाई घाईते बनाएको थियो । हिन्दु समुदायका व्यक्तिहरुले प्रतिकार गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर एक जना युवक घाईते भएका छन् । यद्यपी, उनको अवस्था मध्यम रहेको छ ।
घाईते हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठा बस्ने धनेश्वर मुखियाको छोरा बर्ष २९ को लक्ष्मण मुखिया घाईते भएका हुन् । उनको दुवै खुट्टामा रबर बुलेट लागेको प्रहरीले जनाएको छ ।
सोही झडपको क्रममा दुई प्रहरी समेत घाईते भएका छन् । प्रहरी हबल्दार सन्दुक यादव र विपिन कुमार घाईते भएका छन् । उनीहरुको उपचार प्रादेशिक अस्पतालमा भईरहेको छ । झडप थप केही जना घाईते भएको प्रत्यदर्शीहरुले जनाएको छ ।
विगतमा भएको सम्झौता तेलिया पोखरी खाली गर्ने सहमति अनुसार मुस्लिम समुदायले जबरदस्ती कब्जा गरेको भन्दै खाली गराउन माग गर्दै हिन्दु समुदायका व्यक्तिहरु आन्दोलन गरेका थिए ।

