सरकारले सवारी साधनमा अंग्रेजी लिपिमा मात्र एम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्ने निर्णय गरेकोप्रति नागरिक शक्ति, नेपालले आपत्ति जनाएको छ ।

संगठनले विज्ञप्ति जारी गर्दै यस्तो निर्णयले नेपाली भाषा, लिपि र राष्ट्रिय पहिचानमाथि प्रहार गरेको आरोप लगाएको हो ।नागरिक शक्ति नेपालका महासचिव सुबास प्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा संविधानले नेपाली भाषा देवनागरी लिपिलाई सरकारी कामकाजको भाषा मानेको हुँदा नम्बरप्लेटमा देवनागरी प्रयोग नगर्नु संविधानविपरीत रहेको उल्लेख गरिएको छ ।
संगठनले सवारी साधनका सबै नम्बरप्लेटमा देवनागरीमा नेपाली शब्द र अंक अनिवार्य गर्न, हालको अंग्रेजी लिपिमा बनेका नम्बरप्लेट फिर्ता गरी नयाँ वितरण गर्न, सम्पूर्ण अभिलेख नेपाली भाषामा राख्न, विदेशी कम्पनीमार्फत भएको खर्च सार्वजनिक गर्न र छानबिन गराउन माग गरेको छ ।यस्ता मागहरू पूरा नभए कानुनी र जनदबाबका कार्यक्रम गर्न बाध्य हुने चेतावनीसमेत संगठनले दिएको छ ।


