काठमाडौं । भारतीय संगीत कोकिला आशा भोसलेको ९२ वर्षको उमेरमा आइतबार दिउँसो मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको छ । भोसलेको निधन भएको उनका छोरा आनन्दले पुष्टि गरेका हुन् ।
“आशा भोसले अब रहिनन् । उनको अन्तिम संस्कार भोलि अपराह्न ४ बजे शिवाजी पार्कमा गरिनेछ,” आनन्द भोसलेले भनेका छन् ।
अस्पतालका डा. प्रतित समदानीका अनुसार, आशा भोसलेमा धेरै स्वास्थ्य समस्या थियो । र, ‘मल्टी–अर्गन फेलियर’का कारण उनको मृत्यु भएको हो ।
आशा भोसलेले आफ्नो करियरमा १४ बढी भाषामा १२ हजारभन्दा धेरै गीत गाएकी छन् । उनका ‘दम मारो दम’, ‘पिया तू अब तो आजा’, ‘चुरा लिया है तुमने’जस्ता गीत आज पनि उत्तिकै लोकप्रिय छन् ।
उनी शास्त्रीय संगीतका गायक दीनानाथ मंगेशकरकी छोरी तथा सुप्रसिद्ध गायिका लता मंगेशकरकी बहिनी हुन् । नौ वर्षको उमेरमा पिताको निधन भएपछि परिवार धान्न उनले दिदी लतासँगै गायन सुरु गरेकी थिइन् ।
प्रारम्भिक संघर्ष र रोचक प्रसंग
रोचक कुरा के छ भने, करियरको सुरुआतमा साउन्ड रेकर्डिस्टले उनी र किशोर कुमारलाई उनीहरूको आवाज माइकमा राम्रोसँग नसुनिने भन्दै स्टुडियोबाट बाहिर पठाएका थिए ।
आउँदो सेप्टेम्बर ८ मा ९३ वर्ष पुग्न लागेकी भोसलेको निधनले विश्वभरका संगीतप्रेमीमा शोकको लहर छाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सात दशक लामो सांगीतिक यात्रा
आशा भोसलेको सांगीतिक यात्रा जति लामो रह्यो, त्यति नै विविधतापूर्ण पनि । उनले सात दशकभन्दा बढी समयसम्म आफ्नो स्वरमार्फत स्रोताको मन जितिन् ।
आशा भोसले : १२ हजार गीतमा आवाज, बनेकी थिइन् घरेलु हिंसाको सिकार
उनले करिब १० वर्षको उमेरमा सन् १९४३ मा मराठी फिल्म ‘माझा बाल’का निम्ति ‘चला चला नव बाला’ गीत गाएर आफ्नो सांगीतिक यात्रा सुरु गरेकी थिइन् ।
सुरुआती दिनमा उनलाई ‘पिया तू अब तो आजा’ र ‘ओ हसीना जुल्फोंवाली’जस्ता डान्स नम्बरका निम्ति चिनिन्थ्यो । तर, पछि उनले ‘दिल चीज क्या है’जस्ता गजल र ‘तोरा मन दर्पण कहलाए’लगायत शास्त्रीय गीतमार्फत आफ्नो गायनको गहिराइ प्रमाणित गरिन् ।
‘काजरा मोहब्बत वाला’, ‘रंगीला रे’ र ‘चुरा लिया है तुमने’जस्ता हजारौँ कालजयी गीत उनको आवाजमा अमर बनेका छन् । आशा भोसलेको निधनसँगै भारतीय संगीतको एउटा स्वर्णिम युगको अन्त्य भएको विश्लेषण गरिएको छ ।
व्यक्तिगत जीवन : उतारचढाव र दुई विवाह
आशा भोसलेको व्यक्तिगत जीवन निकै चुनौतीपूर्ण रह्यो । पहिलो विवाह उनले भागेर गरेकी थिइन् । १६ वर्षको उमेरमा उनले दिदी लताका ३१ वर्षीय सेक्रेटरी गणपतराव भोसलेसँग भागेर विवाह गरेकी थिइन् । सोही कारण लता र परिवारसँग उनको सम्बन्ध धेरै वर्षसम्म बिग्रिएको थियो ।
पछि घरेलु हिंसा सहन नसकी सन् १९६० मा उनी आफ्ना तीन सन्तान (हेमन्त, वर्षा र आनन्द)सहित माइत घर फर्किएकी थिइन् ।
उनको दोस्रो विवाह प्रसिद्ध संगीतकार आरडी बर्मनसँग सन् १९८० मा भएको थियो । आशा बर्मनभन्दा ६ वर्ष जेठी र तीन सन्तानकी आमा थिइन् । सोही कारण सुरुमा बर्मनकी आमाले यो सम्बन्ध स्वीकार गरेकी थिइनन् । तर, पछि उनीहरूको विवाह भयो । र, संगीतजगत्कै उत्कृष्ट जोडी बन्यो ।
जब लता र एसडी बर्मनबीच मनमुटाव भयो, आशाले त्यो रिक्ततालाई कलात्मक रूपमा भरिन् । ‘छोड दो आँचल’ र ‘अच्छा जी मैं हारी’जस्ता गीतले उनको बहुमुखी प्रतिभा उजागर गर्यो ।
संघर्ष र सफलताको गाथा
आशा भोसलेको जीवन गीत र संगीतको कथा मात्र होइन, यो एक अथक संघर्ष र कहिल्यै नहार्ने दृढताको प्रतिविम्ब पनि हो ।
हिन्दी चलचित्र संगीतमा लता मंगेशकरको एकाधिकारजस्तै अवस्था थियो । त्यति बेला आशाका निम्ति आफ्नो छुट्टै स्थान बनाउनु निकै कठिन थियो । उनलाई सुरुमा ‘बी–ग्रेड’का चलचित्र वा लताले अस्वीकार गरेका गीतहरू मात्र दिइन्थ्यो । तर, उनले हार मानिनन् ।
नौ वर्षको उमेरमा पिता दीनानाथको निधनपछि मंगेशकर परिवारमा आर्थिक संकट चुलिएको थियो । १४ वर्षकी लता र सानी आशाले परिवार पाल्न संघर्ष सुरु गरेका थिए ।
आशाको गायनशैली निखार्न र उनलाई स्थापित गर्न तीन संगीतकारको भूमिका निर्णायक रह्यो । ओपी नैयरले आशाको आवाजभित्रको ‘शोखी’ र चुलबुलेपनलाई चिनाए । ‘नया दौर’को सफलतापछि आशा पहिलोपटक मुख्य नायिकाको आवाज बनिन् । ‘आइए मेहरबान’ र ‘कजरा मोहब्बत वाला’जस्ता गीतले उनलाई ‘बोल्ड’ गायिकाका रूपमा स्थापित गर्यो ।
आशा भोसलेको करियरको सबैभन्दा ठूलो प्रयोग संगीतकार खय्यामसँगको सहकार्यमा भयो । खय्यामले आशालाई उनको सामान्य स्केलभन्दा डेढ सुर तल झरेर गाउन लगाए । ‘दिल चीज क्या है’ र ‘इन आँखों की मस्ती के’जस्ता गजलले विश्वलाई आशाको आवाजको मखमली र गम्भीर पक्षसँग परिचित गरायो, जसबाट धेरै स्रोता अनभिज्ञ थिए । यसबाट उनले राष्ट्रिय पुरस्कार समेत प्राप्त गरिन् ।
संगीतमा क्रान्ति र नयाँ प्रयोग
आरडी बर्मन र आशाको जोडीले संगीतमा क्रान्ति ल्यायो । ‘दम मारो दम’जस्ता रक शैलीका गीतदेखि ‘इजाजत’ चलचित्रका ‘मेरा कुछ सामान’लगायत गम्भीर र गद्य–कवितालाई उनले जुन अध्यात्मकताका साथ गाइन्, त्यो आज पनि गायकीको पाठशाला मानिन्छ ।
उनको योगदानले दक्षिण एसियाली संगीतलाई विश्वमञ्चमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
लता मंगेशकर र आशा भोसलेले सँगै ५० भन्दा बढी गीत गाएका छन् । समय, पुस्ता बदलियो, तर आशाको आवाज सधैँ जवान रह्यो । एआर रहमानको ‘रंगीला’देखि आधुनिक समयका रिमिक्ससम्म उनले आफूलाई समयानुकूल ढाल्न सफल भइन् ।
दिदीको विशाल छायाबाट निस्किएर संगीतको क्षितिजमा आफ्नो छुट्टै आकाश निर्माण गर्ने आशा भोसलेको आवाज सधैँ हावामा गुन्जिरहनेछ । संगीतको एउटा स्वर्णिम अध्यायको आज विधिवत् अन्त्य भएको छ, तर कालजयी गीतले उनलाई सधैँ अमर बनाइराख्नेछन् । एजेन्सीको सहयोगमा


