बुटवल । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सीटी स्क्यान मेसिन खरिद प्रकरणमा अनियमितता भएको आरोपमा तत्कालीन उपकुलपति प्रा.डा. संगीता सिंह भण्डारीसहित १९ जना व्यक्ति र एक कम्पनीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा प्रतिष्ठानका पदाधिकारी, कर्मचारी तथा खरिद प्रक्रियामा संलग्न निजी कम्पनीका प्रतिनिधिहरू प्रतिवादी बनाइएका छन्। आयोगले उनीहरूसँग ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रुपैयाँ बिगो मागदाबी गरेको छ।
प्रतिवादीमध्ये तत्कालीन उपकुलपति भण्डारीसँगै रजिष्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभाग प्रमुख डा. बोम बीसी, बायोमेडिकल इन्जिनियरहरू शरद भण्डारी र आशुतोष भण्डारी, कन्सल्टेन्ट इन्जिनियर अमितकुमार चौधरी तथा हिमालयन मेडिटेक प्रालि र यसका प्रतिनिधिहरू अमर श्रेष्ठ र सन्जु राजकर्णिकारसमेत रहेका छन्।
अख्तियारका अनुसार प्रतिष्ठानका लागि ‘१२८ स्लाइस सीटी स्क्यान मेसिन’ खरिद गर्दा गुरुयोजना र आवश्यकताको पहिचान नगरी प्रक्रिया अघि बढाइएको, बोलपत्र खोल्नुअघि प्राविधिक स्पेसिफिकेसनमा अस्वाभाविक संशोधन गरी निश्चित कम्पनीलाई फाइदा पुग्ने गरी काम गरिएको तथा गुणस्तरीयतासम्बन्धी गलत प्रतिवेदन तयार पारिएको अभियोग लगाइएको छ।


