

शक्ति नेपालले आन्दोलनबारे महत्वपूर्ण निर्णय गर्योकाठमाडौं । नेपाली राजनीतिको जटिल अवस्थाबीच नागरिक शक्ति, नेपालले आन्दोलन र आगामी कदमबारे विस्तृत निर्णय सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय समिति विस्तार बैठकले जारी गरेको निर्णयमा हालै देशभर भएको जेनरेशन–जेड (Gen Z) युवापुस्ताको नेतृत्वमा भएको आन्दोलनलाई ऐतिहासिक मोडको रूपमा व्याख्या गरिएको छ ।बैठकले सिंहदरबार, सर्वोच्च अदालत र शीतल निवास लगायत क्षतिग्रस्त राष्ट्रिय सम्पदाको तत्काल पुनर्निर्माण गर्न सरकारलाई आग्रह गरेको छ।
साथै आन्दोलनमा संलग्न युवापुस्ताको त्याग, बलिदान र अटल संकल्पलाई राष्ट्र निर्माणको सकारात्मक आधार मान्दै नयाँ अभियान सुरु गर्ने घोषणा गरेको छ।निर्णयका मुख्य बुँदा :
•संसदमा रहेका सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई तत्काल बिदा दिने।
•सम्पूर्ण जनताले मिलेर नयाँ राजनीतिक सहमति निर्माण गर्ने।
•सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई उच्च मूल्याङ्कन गर्ने र सुरक्षाकर्मीलाई आधुनिक तालिम तथा साधन उपलब्ध गराउने।
•क्षतिग्रस्त राष्ट्रिय सम्पदा पुनर्निर्माण अभियान अघि बढाउने।
•“जनताको खुशी नै देशको विकास हो” भन्ने मूल मन्त्रसहित राष्ट्रिय अभियान सञ्चालन गर्ने।
•आन्दोलनका क्रममा भएको क्षतिपूर्ति स्वरूप सहिद परिवारलाई तत्काल राहतस्वरूप ५० लाख रुपैयाँ उपलब्ध गराउने र घाइतेलाई रोजगारीको सुनिश्चितता दिने।
•आन्दोलित युवापुस्तालाई सम्मानजनक ढंगले संविधान संशोधन प्रक्रियामा सहभागी गराउने।
•अव्यवस्थित शरणार्थी समस्या समाधान गरी देशलाई शरणार्थीमुक्त बनाउन पहल गर्ने।
•गैरसरकारी संस्थाको भूमिकालाई नियमन गर्ने।
•आन्दोलनका क्रममा नेता वा राजनीतिक व्यक्तिहरूको घरमा भेटिएका अवैध सम्पत्ति तत्काल छानबिन गर्ने ।बैठकले आन्दोलनलाई नयाँ पुस्ताको क्रान्तिकारी चेतनाको प्रतिफल भन्दै आगामी दिनमा स्वतन्त्र, स्वाभिमानी र न्यायपूर्ण समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।



