
गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। विगत केही समयदेखि शेयर कारोबारलगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र ‘जेनजी’ आन्दोलनको दबाबपछि उनले नैतिकताको आधार देखाउँदै राजीनामा दिएका हुन्।बिहीबार सामाजिक सञ्जालमार्फत मन्त्री गुरुङले २०८२ चैत १३ गतेदेखि सम्हाल्दै आएको जिम्मेवारीबाट अलग भएको घोषणा गरे। उनले सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने मान्यता राख्दै छानबिनमा सहजता होस् भन्नका लागि पद त्याग गरेको बताएका छन्।
राजीनामा पत्रमा उनले उल्लेख गरेका छन्, “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन।” पछिल्लो समय सामाजिक सञ्जाल र सडकमा युवा पुस्ताले सुशासन र पारदर्शिताको माग गर्दै गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनले सार्वजनिक पदमा बस्ने व्यक्तिमाथि प्रश्न उठ्दा जवाफदेही हुनुपर्ने बताए।
गुरुङले आफ्नो परिवारका ४६ जना सदस्यको बलिदानीबाट बनेको सरकारको साख जोगाउन आफूले यो निर्णय लिएको दाबी गरे। “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् भन्ने मेरो उद्देश्य हो,” उनले भने।राजीनामाकै क्रममा उनले केही सञ्चारकर्मीहरूमाथि पनि कटाक्ष गरेका छन्। उनले केही मिडियाकर्मीहरूको पनि विभिन्न ठाउँमा शेयर रहेको र त्यो बिस्तारै बाहिर आउने दाबी गर्दै ‘रामराज्य’ को चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउनुपर्ने चुनौती दिएका छन्।


