काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन तोकिएको समयभन्दा एक दिन पनि सार्न नपाइने चेतावनी दिएका छन्।
प्रधानमन्त्री कार्कीले बीबीसी नेपालीसँगको अन्तर्वार्तामा निर्वाचनको मिति १५ दिन वा दुई महिना पछाडि सार्न सकिने बताएका अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै श्रेष्ठले त्यसलाई आचारसंहिता उल्लंघन र कार्यादेश विपरीतको कदम भएको बताएका हुन्।
सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीलाई “कम बोल्नुस्, काममा केन्द्रित हुनुस्” सुझाव दिँदै, गलत अभिव्यक्ति नदिन र दिइसकेका अभिव्यक्तिलाई सच्याउन आग्रह गरेका छन्।
श्रेष्ठले निर्वाचन तोकिएकै मितिमा सम्पन्न नभए मुलुक गम्भीर संकटमा धकेलिन सक्ने चेतावनी दिएका छन्। उनले प्रधानमन्त्रीलाई राष्ट्रिय सार्वभौमिकता, संविधान र लोकतन्त्रलाई कमजोर नपार्ने गरी गम्भीर बन्न आग्रह गर्दै समयमै निर्वाचन सम्पन्न गराउन जोड दिएका छन्।यसअघि प्रधानमन्त्री कार्कीले मुलुकको राजनीतिक परिस्थिति जटिल रहेको भन्दै निर्वाचन केही समय सार्न सकिने संकेत दिएकी थिइन्, जसप्रति विभिन्न राजनीतिक दलका नेताहरूले आलोचना गरिरहेका छन्।


