काठमाडौं । हिन्दू वैदिक परम्परा अनुसार प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि देशभर विधिवत् रूपमा सुरु भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको पात्रो पञ्चाङ्गअनुसार प्रतिपदा तिथिको श्राद्ध अपरान्हसम्म सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार दिवंगत पितृलाई तर्पण, सिदा दान र पिण्डदान गर्ने वैदिक सनातनी परम्परा नै सोह्रश्राद्धको आधार हो ।
सोह्र दिनसम्म चल्ने यस विशेष कर्मलाई अपर पक्ष वा प्रेत पक्ष पनि भनिन्छ । शास्त्रीय विश्वासअनुसार यस अवधिमा पितृहरूले सन्तानबाट श्रद्धा र भक्तिको प्रतीक्षा गरिरहेका हुन्छन् ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल भन्छन्,
“सोह्रश्राद्ध गर्दा पितृ ऋणमुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्था बाहेक यो श्राद्ध छोड्नु अक्षम्य दोष मानिन्छ।”
यस परम्पराले दिवंगत पितृप्रति श्रद्धा व्यक्त गर्ने मात्र होइन, चाडपर्व सुरु हुनु अघि पितृ तृप्तिको कर्म सम्पन्न गर्ने धार्मिक आस्थासमेत बोकेको छ ।
सोह्रश्राद्ध सम्पन्न भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । त्यसैले नेपाली घर–घरमा अहिले पितृलाई सम्झँदै श्राद्ध, तर्पण र दानदक्षिणामा भक्तजन व्यस्त देखिएका छन् ।


