परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । यहाँका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइएको छ । यसरी ठड्याइएको लिङ्गोलाई नेपाल भाषामा यम्वोःद्यो भनिन्छ ।
जात्राको पहिलो दिन स्थानीय गुठियारले नगरका टोलटोलमा विधिवत् पूजाआजासहित नगरका इताछें।, तेखापुखुः, मुलाखः, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, गःहीटी, महालक्ष्मी स्थान, चासुखेललगायतका स्थानमा यमःद्यो ठड्याइन्छ। दोस्रो दिनलाई शून्य दिन मानिन्छ। यस दिन जात्राको कुनै कार्यक्रम हुने छैन। जात्राको तेस्रो दिनअर्थात् इन्द्रजात्राको दिन साँझ खौमास्थित इन्द्रायणी देवीको खट जात्रा मनाइन्छ।
संस्कृतिकर्मी ओम धौभडेलका अनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो ।भक्तपुरको इन्द्रजात्रामा स्थानीय गुठियारले टोलटोलमा यमःद्यो ठडयाएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरवको जात्रा, याँमता (आकाश दीप) जात्रा, मुपात्र जात्रा र पुलुकिसी जात्रा गरी आठ दिनसम्म धुमधामका साथ मनाइन्छ।
जात्राको क्रममा राती पालाको दीप बालेर दहलाई सजाइन्छ। यस दिन राति दहमा मेला लाग्छ। मध्यराति तान्त्रिक पूजा गरी इन्द्रायणीलाई भोग बलि चढाउने परम्परा छ।
जात्राको चौथौँ दिन यन्या पुन्ही (भाद्र शुक्ल पूर्णिमा)का अवसरमा धार्मिक तीर्थस्थलका रुपमा रहेको प्रसिद्ध प्राचीन इन्द्रदहमा बिहानै स्नान गरी इन्द्रायणी देवीको पूजाआजा गर्ने भक्तजन ठूलो घुइँलो लाग्ने गर्छ। देवराज इन्द्रले स्नान गरेको दह हुनाले यस दिन इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आराधना गरेमा पुण्यप्राप्ति हुनाका साथै पारिवारिक सुख समृद्धि मिल्ने जनविश्वास छ।
यस दिन इन्द्रायणी देवीको मात्र नभएर दह छेउछाउमा रहेका लिच्छविकालीन र मल्लकालीन शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्ति तथा वासुकी नागको समेत पूजा गरिन्छ। दहको पूर्वदिशामा रहेको शिवलिङ्गमा जल चढाइ पिउने परम्परा छ। राति इन्द्रायणी देवीलाई परम्परागत बाजागाजाका साथ पुनः जात्रा गरी खौमास्थित देवगृहमा ल्याई विधिवत् पूजा गरी आशनमा विराजमान गराइन्छ । जात्राको पाँचौँ दिनलाई पनि शून्य मानिन्छ।
जात्राको छैटौ दिनदेखि तीन दिनसम्म लगातार याँमता र मुपात्र जात्रा मनाइन्छ। पहिलो दिन सकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिरमा एक जोडी याँमता (त्रिशूल आकारको माथि फर्किएका तीन वटा टुप्पामा बालिने बत्ती) बालिन्छ। लगत्तै तचपालको सँला गणेशलाई विधिवत् पूजा गरी खटमा राखिन्छ। गणेशलाई खटमा राखिसकेपछि अगाडि याँमता त्यसपछि सलाँ गणेशको जात्रा गरिन्छ। त्यसपछि मुपात्र जात्रा मनाइन्छ। जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको ठाउँमा परिक्रमा गराइन्छ।
जात्रामा मुपात्र प्रमुख र धिःचा नामक उनका अन्य दुई जना सहायकसहित तीन जनालाई राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ लगाई शृङ्गारपटारका साथ तरबार समात्न लगाई सहर परिक्रमा गराउने प्रचलन छ। सहर परिक्रमा गर्दा टोल टोलमा ठड्याएको यमःद्योलाई मुपात्रले तीन पटक घुमेर तरबारले हान्ने गरिन्छ।
जात्राको सातौँ दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ। यस दिन गोमारीको मानन्धर समुदाय साँझ छुमा गणेशकहाँ गएर सुकुना बालेर आइसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा सुरु गरिन्छ। याँमता चोछेंमा पुगेपछि छुमा गणेश त्यसको पछाडि गई जात्रा गर्छ। लगत्तै भक्तपुरको दरबार स्क्वायरबाट मुपात्र निकालेर जात्रा गरिन्छ।
जात्राको अन्तिम दिन तल्लो टोलको मानन्धर समुदायले एक जोडी याँमता लाने परम्परा छ। यस दिन याँमतासँगै तमारी(तौमढी)को भैरवको खट जात्रा र पुलुकिसी जात्रा गरिन्छ। सुरुमा तल्लो टोल तेखाचो र तापालाछींका मानन्धर समुदायले भैरवनाथ मन्दिरमा गई सुकना बालेर आउँछन्।
त्यसपछि बुलाचास्थित ढुङ्गेधारामा एकजोडी याँमता बालेर जान्छ। त्यसको पछाडि तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ। खट जात्रामा नायखिङ (खड्गी समुदायको विशेष) बाजा बजाएर भैरवनाथको रथलाई परिक्रमा गराइन्छ। परिक्रमा गर्नुपूर्व गुठी संस्थानबाट भैरवलाई विधिवत्रुपमा बली पूजा गरिन्छ।
भैरवको खट जात्रा गरेपछि स्थानीय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रो माथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गरिन्छ। जात्रा सुरु गर्नु अगाडि तमारीको भैरव मन्दिर अगाडि तीन पटक घुमेर पुलुकिसी जात्रा सुरु गरिन्छ। जात्रामा पुलुकिसीलाई चार मानिसले बोकेर ल्याइन्छ भने एक जनाले पुलुकिसीभित्र बसेर घण्टा बजाएर आउने परम्परा छ।

