ललितपुर, भदौ ७ – सामाजिक उत्तरदायित्वअन्तर्गत नागरिक शक्ति नेपालले आज ललितपुर महानगरपालिका–२४, धापाखेलस्थित मानव सेवा आश्रममा “खाद्यान्न तथा कम्बल वितरण कार्यक्रम–२०८२” सम्पन्न गरेको छ ।
कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा नागरिक शक्ति नेपालका उपाध्यक्ष शम्भुमान सिंह र महासचिव सुभास प्रसाद पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभयो । कार्यक्रममा पार्टीकी सचिव एवम् ललितपुर जिल्ला संयोजक बिन्दु बुढाथोकीको सभापतित्व रहेको थियो भने अन्य केन्द्रीय र जिल्ला स्तरीय नेताहरूको पनि उल्लेखनीय सहभागिता थियो ।
कार्यक्रममा आश्रममा बसोबास गर्दै आएका असहाय, विपन्न तथा ज्येष्ठ नागरिकहरूलाई खाद्यान्न र कम्बल वितरण गरिएको थियो । आयोजकले समाजका कमजोर वर्गलाई साथ दिने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता जनाएको छ ।
नागरिक शक्ति नेपाल परिवारले समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै जनताको जीवनस्तर उकास्ने अभियानलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाउने बताइएको छ ।


