
- नवलपरासीको रामग्राममा ट्रकको ठक्करबाट पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ।
- दुर्घटनामा गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो।
- प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
परासी । नवलपरासीको रामग्राम नगरपालिका–२ सेतो पुलस्थित हुलाकी सडकमा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ।
शुक्रबार दिउँसो करिब १२:१० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१३ भलवाडी निवासी अन्दाजी ४० देखि ५० वर्षका पोखरेल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल परासी पुर्याइएकोमा चिकित्सकले दिउँसो १२:२० बजे मृत घोषणा गरेका थिए।
पोखरेल रुपन्देहीमा पत्रकारितामा सक्रिय थिए। उनले अग्निपरीक्षा साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएका थिए।
दुर्घटनापछि प्रहरीले ट्रक, मोटरसाइकल र ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ निवासी २६ वर्षीय बन्धु रानालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।


