
- आज नेपालमा सूर्योदय बिहान ५:०५ र सूर्यास्त साँझ ६:४९ बजे हुनेछ।
- विभिन्न राशि अनुसार आज कसैलाई कार्यमा सफलता मिल्नेछ भने कसैलाई रिस र घमण्डबाट टाढा रहन सुझाव दिइएको छ।
- धेरैजसो राशिका लागि मिहिनेत र धैर्यता अपनाएमा आर्थिक लाभ र पारिवारिक सुख मिल्ने शुभ दिन रहेको छ।
नेपाल प्रेस खबर, बुद्धभुमी रुपन्देही:
आज नेपालमा सूर्योदय, बिहान ०५:०५ बजे र सूर्यास्त, साँझ ०६:४९ बजे र चन्द्रोदय बिहान ०७:०३ बजे र चन्द्रास्त, बेलुका ०८:०४ बजे हुनेछ।
मेष~ (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आत्मबल र हिम्मतका साथमा काम गरेमा महत्त्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ, कुनै कुरामा दुविधा भएमा सहकर्मीको साथ लिंदा झन राम्रो हुनेछ । जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर सँगीसाथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुपर्छ । घरायसी सुखसुविधा बढाउन वा चलअचल सम्पत्ति खरीद गर्ने योजना बनाउने दिन हो । कसैसँग सहयोगको अपेक्षा गरेमा निराश हुनुपर्दैन ।
बृष~ (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । जीवनसाथी र परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ, कुनै आर्थिक समस्या छ भने प्रयास गरेमा हल हुने समय हो । मिहिनेत र बुद्धिकौशलको प्रयोग गरी आज सँगीसाथीका बीचमा विद्वान् र चङ्ख साबित हुने दिन हो, गुरुजनबाट स्याबासी पाउन सक्नुहुन्छ ।
मिथुन~ (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर रिसराग, घमण्ड र अहङ्कारबाट टाढा रहनु ठीक हुन्छ । काममा प्रगति हुने समय छ, तर एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन् भन्ने बुझेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो । घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ ।
कर्कट~ (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
श्रेष्ठ र शुभ कर्ममा आकर्षण बढ्नेछ, कुनै यज्ञयागादि वा माङ्गलिक कार्य गर्ने योजना बनाउने वा पारिवारिक सल्लाह हुने समय छ । दौडधूप गर्नुपर्ने काम, ढुवानी÷यातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो । खर्चमा बृद्धि हुनाले बजेट डगमगाउने समय हो, आर्थिक तनावले पतिपत्नीका बीचमा सुलह नहुने गरी विवाद चुलिन सक्छ, सचेत भएर व्यवहार गर्नुहोला ।
सिंह~ (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता छ भने प्रतियोगी बलिया छन् भन्ने बुझी अझ धेरै मिहिनेत र प्रयास गर्नुपर्ने दिन हो । जीर्णोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ, तर प्रयास गरेमा अड्किएको वा फँसेको धन हात पर्ने दिन हो । परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो ।
कन्या ~(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न आजको दिन अनुकूल समय देखिन्छ । कुनै कुरामा दुविधा भएमा अभिभावक वा बुजुर्ग व्यक्तिहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ । दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो खट्नुपर्ने दिन हो । अन्त्यसम्म व्यस्त रहनु पर्नेछ, तर मिहिनेत गरेअनुसार राम्रै प्रतिफल हात लागी हुनेछ । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो ।
तुला~ (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापारबट्टा र आर्थिक क्रियाकलापबाट सदा झैं फाइदा नै हुनेछ, नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ । आफन्त वा छरछिमेकको काममा खट्नुपर्ने समय छ, घरव्यवहारकै काममा पनि व्यस्तता रहनेछ, आज बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुने दिन हो । विशेष गरी जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्दछन्, तिनको प्रयास सफल हुने तथा प्रशंसा पाउने समय हो ।
बृश्चिक~ (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नियम,कानूनसँग असङ्गत विषयवस्तु र गलत काममा दिलचस्पी राख्नु हुँदैन, साँच्चै भन्ने हो भने आज रिस्क र जोखिमबाट टाढा भाग्ने दिन हो । चित्त व्याकुल हुनुका साथै गुनासो र गनगन बढ्ने दिन हो, तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा समेत कमजोरी देखा पर्नसक्छ । सम्मान प्राप्त हुने समय छ । मनलाई एकाग्र बनाउन, समाधि र योगको अभ्यास गर्नसमेत आजको दिन राम्रो देखिन्छ ।
धनु ~(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मन प्रसन्न रहने छ, लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । ससाना कुरामा झैझगडा मानसिक तनाव बढ्न सक्छ, रिस आजको शत्रु हो भन्ने ठानी हरेक समयमा धैर्य र संयम रहनु होला । कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ, पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ ।
मकर~ (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यस्थितिमा कमजोरी देखिए पनि आनन्द र तिर्सनामा बृद्धि हुने दिन हो । स्वभावमा अस्वाभाविकता देखा पर्नेछ, कलहबाट टाढिएको जाती हुन्छ । जिद्दीपन र घमण्ड बढ्नेछ, गर्नुपर्ने काम वा जिम्मेबारीप्रति कुनै लगाव देखिंदैन, तर परीक्षामा खरो उत्रन अझ धेरै मिहिनेत गर्ने समय हो । शारीरिक थकान र बेचैनीको समय हो, ससाना कुरामा चिन्ताग्रस्त भइने छ, सानातिना विषयमा चिन्ता गर्ने हुँदा आफूमात्र होइन, आफन्त र सँगीसाथीको तनावमा समेत बृद्धि हुने समय छ ।
कुम्भ~ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक वातावरण ठीकै छ, तर छोराछोरीको इच्छा बुझेर काम गर्ने हुँदा बजेट डगमगाउने तथा पारिवारिक जीवनमा मनोमालिन्य बढ्नसक्ने समय छ । प्रयास गरेको कुनै पनि साधनाले पूर्णता प्राप्त गर्नेछ । नजानेर अड्किएका विषयमा आज पुनः प्रयास गर्नु राम्रो हुन्छ । कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ । कुनै नयाँ कामको थालनी गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला ।
मीन ~(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लवलाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो, तथापि घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ । आत्मविश्वासमा बृद्धि हुनाले हाँकेताकेको काममा सफलता प्राप्त हुनेछ । प्रेमप्रसङ्ग र भावनात्मक क्रियाकलापमा समेत भुलिन सक्नुहुन्छ । कारोबारलाई नयाँ गति दिने प्रयत्न हुनेछ । आशाका पछि लाग्नु स्वाभाविक हो, तर पनि आज कसैको आश्वासन वा लोभमा भुलिनु हुँदैन ।
ज्योतिष;
आचार्य पवित्र :९८६७२७८८०२

