
- आज नेपालमा बिहान ५:०४ मा सूर्योदय र साँझ ६:४८ मा सूर्यास्त हुनेछ।
- मेषदेखि मीन राशिसम्मका व्यक्तिहरूका लागि आजको दिन आर्थिक र पारिवारिक रूपले मिश्रित रहनेछ।
- विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरूले आफ्नो काममा धैर्य र संयमता अपनाएमा सफलता मिल्नेछ।
नेपाल प्रेस खबर, बुद्धभुमी रुपन्देही:
आज नेपालमा सूर्योदय, बिहान ०५:०४ बजे र सूर्यास्त, साँझ ०६:४८ बजे हुनेछ भने चन्द्रास्त,दिउँसो ०३:४४ बजे र चन्द्रोदय,भोलि बिहान ०२:३० बजे हुनेछ।
मेष ~(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । मन भोगविलास र रमझमप्रति आकर्षित बन्नसक्छ, घरपरिवारमा सम्पर्क हुने र पतिपत्नी वा प्रेमीप्रेमिकाका बीचमा भलाकुसारी हुने वा निकटता बढ्ने समय हो । कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातावरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ ।
बृष~ (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो, अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाती हुन्छ । मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ । अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ ।
मिथुन~ (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पदोन्नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय हो, कामविशेषले कतै काजमा जाने वा देश÷विदेशको यात्रामा निस्कने संयोग जुरेको छ । आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो, कुरा काट्ने, खिसीट्युरी गर्ने वा प्रतिस्पर्द्धीहरू आफैं तर्किएर हिँड्नेछन् । सरकारी कामकाज वा प्रशासनिक समस्या देखिएका छन् भने कागजपत्र मिलाउन उपयुक्त समय छ । सँगीसाथी र सहयोगीले तपाईंको काममा सहयोग गर्नेछन् ।
कर्कट~ (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लेखन÷प्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो । आपसी सम्बन्धमा नयाँ मिठास देखापर्न सक्छ, घरपरिवारले आफ्ना समस्या बुझ्ने तथा बृद्धबृद्धासमेत खुसी भएर आशीर्वाद दिने समय हो । मिहिनेत गर्नुपर्ने दिन हो, कुनै परीक्षा वा प्रतिस्पर्द्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ ।
सिंह~ (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यक्षेत्रबाट कुनै राम्रो समाचार आउनसक्छ । अभिभावक र बुजुर्ग व्यक्तिको सल्लाह मानेमा लक्ष्यप्राप्तिको मार्गमा सफल भइनेछ । याद गर्नुहोला, आजको दिन राम्रो बनाउन स्वयं आफ्ना लागि समय निकाल्न सक्नुपर्छ । आफ्नो क्षेत्रमा साख र इज्जत कमाउने दिन हो, सहयोगीहरूको समेत साथ पाउनाले आत्मबल र हिम्मत पलाउने राम्रो समय छ । त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ ।
कन्या ~(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहकर्मीहरूसँग समन्वय गरी अघि बढ्ने समय हो, याद राख्नुपर्छ, आज दबाब वा करकापमा गरेको कामले भविष्यमा धोका हुनसक्छ । मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनेछ, तर आज त्यस्तो दिन हो, जसमा मनको कुरो मनैमा रहन सक्छ । साथीभाइसँगको मनुमुटावका कारण मन उदासीन बन्ने दिन हो, गुप्त र रहस्यमय सुख प्राप्त गर्ने महत्त्वाकाङ्क्षामा अङ्कुश लगाउनु बेस हुनेछ ।
तुला~ (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन हो । जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ । व्यक्तित्वमा निखार आउने छ, धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने दिन हो । तर आत्मकेन्द्रित भइदिनु र आफ्ना बारेमा मात्र सोच्नुले नजिकका आफन्तहरू टाढिने परिस्थिति बन्नसक्छ ।
बृश्चिक~ (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । पेसागत र व्यवसायिक परिस्थिति सामान्य रहनेछ, तर स्वास्थ्यस्थितिमा केही उतारचढाव देखिनाले अथवा कुनै विवाद वा झैझगडामा रुमल्लिनाले चिन्ता बढ्न सक्छ । स्वास्थ्यक्षेत्र, काठपात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानीसम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने हुन्छ ।
धनु~ (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कला, साहित्य, सङ्गीत आदि क्षेत्रमा दिलचस्पी जाग्न सक्छ, आन्तरिक प्रतिभाको प्रदर्शन गरी प्रशंसा बटुल्न सकिने छ । आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागुरियाका व्यापारीका लागि राम्रो दिन देखिन्छ । पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ ।
मकर~ (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन,अध्यापनका दृष्टिले कमजोर समय छैन, मिहिनेतको उत्कृष्ट नतिजा मिल्नेछ, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ । निर्णयात्मक काममा ध्यान केन्द्रित हुँदैन, घरायसी समस्या र सुखका बारेमा चिन्तन गर्ने दिन हो । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर अघि बढ्नु ठीक हुन्छ । मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ, आफ्ना विषयवस्तुमा अरुले अधिकार जमाउन सक्छन् । प्रगतिका निमित्त सचेत र संयम हुनु ठीक हुन्छ ।
कुम्भ~ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतको राम्रो नतिजा प्राप्त हुने समय हो, सोचेको उपलब्धी हात पार्नाले साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर मिल्नेछ । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ । सामाजिक क्षेत्र वा फाल्तु विषयमा केन्द्रित हुँदा कार्यक्षेत्र प्रभावित बन्नसक्छ, तथापि कूटनीतिक बुद्धिको उपयोग गर्दा हाँके÷ताकेका काममा सफल भइने छ ।
मीन~ (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानीको मार्ग बढ्नेछन् । शङ्कास्पद कारोबार र गलत तरिकाबाट समेत धनार्जन गर्ने सम्भावना छ, तर रिस्कमा काम नगर्नु होला । नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ, सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् । ताजगी र स्फूर्ति बढ्नेछ, नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा मन केन्द्रित हुनसक्छ । दिदीबहिनी वा माइतीपक्षसँग सम्बन्ध,सम्पर्क गर्ने दिन हो ।
ज्योतिष;
आचार्य पवित्र :९८६७२७८८०२

