नेपाल प्रेस खबर, बुद्धभुमी रुपन्देही:
आज नेपालमा सूर्योदय,बिहान ०५:०८ बजे र सूर्यास्त,साँझ ०६:३८ बजे हुनेछ भने चन्द्रोदय,बिहान ०९:२३ बजे र चन्द्रास्त,बेलुका ०९:४३ बजे हुनेछ।
मेष ~(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ । सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । मानसिक अस्थिरताको समय हो, मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुनसक्छ, असाध्यै दौडधूप गर्नुपर्ने समय छ, सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ, अतः महँगा चिजबीजको प्रयोग गर्दा सावधान रहनुहोला ।
बृष ~(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता हासिल हुनेछ, त्यस्तै देखिएका चुनौती निवारण गर्न सहकर्मी वा हाकिमको सहयोग प्राप्त हुनेछ । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । उधारो दिन वा ऋणसापटीमा रकम लगानी गर्नबाट जोगिनुपर्ने समय हो, तर पनि सँगीसाथीसँग समन्वय गरी अघि बढेमा लाभ पाउन सक्नुहुन्छ ।
मिथुन~ (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ तपाईंको व्यवसाय बढाउने उत्तम तरिका बन्नसक्छ । मानिसहरूको नकारात्मक प्रतिक्रियालाई बेवास्ता गर्दै आफ्नो कर्ममा ध्यान दिने समय हो । कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ ।
कर्कट~ (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आत्मबल बढ्ने छ, नयाँ ज्ञान प्राप्त गर्ने वा विगतको सिकाइ अनुभवको प्रयोग गरी अघि बढ्ने समय हो । धन वा प्रतिष्ठाको बृद्धिका लागि चालेका हरेक प्रयास सफल हुनेछन् । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने छ । अनुभवको प्रयोग गरेमा ठोस उपलब्धि प्राप्त हुनेछ, प्रतिष्ठित जिम्मेवारी हातलागी हुने समय हो । आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ ।
सिंह~ (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित बन्नाले काममा निष्ठाको कमी हुनेछ । सिनियर्स वा आफन्तले निराशा र वैमनस्यता प्रकट गर्नेछन् । कारोबारमा झट्ट अर्काको विश्वास गर्ने दिन होइन, सहयोगीमाथि पनि पूर्ण भरोसा गर्ने दिन छैन, नत्र आकस्मिक रूपमा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । तालमेलमा केही कमी रहने दिन हो । सकेसम्म हरेक व्यवहारमा ठूलाबडाको मर्यादा र सम्मानप्रति सचेतता अपनाउनु आवश्यक देखिन्छ ।
कन्या~ (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सरकारी काम, ठेकापट्टा आदिमा अड्किएको काम फुकाउन सकिने समय हो, प्रयास गरेमा अन्य काममा समेत लाभ पाउने समय हो । सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ । तर पनि आज कुनै विशेष कार्यमा सफलता मिल्ने दिन हो । लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ ।
तुला~ (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हाकिम वा वरिष्ठ कर्मचारीसँग निकटता बढ्नाले विशेष लाभ लिनसक्ने समय हो, अतिरिक्त आम्दानी हुनाले तत्कालको गर्जो टार्न सघाउ पुग्नेछ । व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् । लक्ष्य र योजनाप्रति विश्वास र उत्साह जाग्ने दिन हो, प्रतिष्ठित वा लोकप्रिय व्यक्तित्वसँग भेटघाट हुने वा उनको जीवनबाट प्रेरित भएर काम गर्ने समय छ ।
बृश्चिक~ (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ । ज्ञानको भण्डार पूर्ण हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ । हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् ।
धनु~ (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । आवेग र रिसरागमा नियन्त्रण राखी खासगरी ड्राइभिङका क्रममा घुम्ती र मोडमा सावधानी अपनाउनु होला । आजको दिन आफूले गल्ती नगरे पनि अरुको लापरवाहीको सजाय व्यहोर्नुपर्ने समय छ । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ, तर कागजपत्रमा सहीछाप गर्दा सतर्कता अपनाउनु होला ।
मकर~ (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो । कलात्मक विषयवस्तुमा आकर्षण बढ्नेछ । आफैं पनि गीतसङ्गीत, चित्रकला, फोटोग्राफी वा कुनै कलाप्रति झुकाव राख्नुहुन्छ भने राम्रो गर्ने समय हो । प्रविधिको प्रयोग गरेर वा अनलाइन गतिविधिमार्फत अतिरिक्त लाभ हुनसक्छ । ढुवानी र आयातनिर्यातको काममा संयमता अपनाउनु ठीक हुन्छ ।
कुम्भ~ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । आफ्ना विरोधी र शत्रुहरूप्रति अनुदार र उद्दण्ड बन्ने दिन छ, आवेशमा आएर गैरकानूनी र असामाजिक काममा संलग्न नहुनु होला । चुनौतीका माझ मोटो रकम हातलागी हुने दिन हो, रातो रङका चिजबीज, लताकपडा, बृक्ष वनस्पति, शैक्षिक प्रतिष्ठान, औषधी र खाद्यान्नका क्षेत्रमा राम्रो देखिन्छ ।
मीन~ (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ । शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामान्य जनले समेत ज्ञानगुन, अध्यात्म र दार्शनिक विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक र लेखनकार्यमा सफलता मिल्नेछ । ईर्ष्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ ।
ज्योतिष;
आचार्य पवित्र :९८६७२७८८०२

