आज मिति २०८२ फागुन १७ गते आइतवारको दिन माता सुपादेउरालीको दर्शन गरि हेर्नुहोस आजको राशीफल

नेपाल प्रेस खबर, बुद्धभुमी रुपन्देही:

आज नेपालमा सूर्योदय,बिहान ०६:२३ बजे र सूर्यास्त,साँझ ०५:५६ बजे हुनेछ भने चन्द्रोदय,दिउँसो ०४:०५ बजे र चन्द्रास्त, भोलि बिहान ०४:१८ बजे हुनेछ।

मेष~ (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कुरा काट्ने र खुट्टा तान्नेहरू सक्रिय हुनेछन्, स्वास्थ्यस्थितिमा पनि असर पर्नसक्छ, त्यसैले आज शारीरिक तन्दुरुस्ती र आहारविहारमा ध्यान दिनुहोला । होटल/मोटल, रेस्टोरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढंगले चिन्तन गर्ने समय आएको छ, खटेअनुसार आम्दानी हुने दिन हो । घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन, तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराशा व्यहोर्नुपर्छ ।

बृष~ (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी विषयमा रुचि जाग्नेछ, नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथ/सहयोग प्राप्त हुनेछ । दाजुभाइ, दिदीबहिनी वा छरछिमेकीको सहयोग गर्ने हुँदा केही समय बित्नसक्छ । आज व्यक्तिगत पहिचान र प्रतिष्ठा एवं व्यवसायिक स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्ने दिन हो । सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो ।

मिथुन~ (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पार्टनरको इच्छानुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ, खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्था गरेरमात्र सम्पर्क गर्नु ठीक हुन्छ । नौलो विषयमा चासो देखाउनु तथा नयाँ ठाउँमा धन लगानी गर्नु उचित समय छैन, दैनिकी सञ्चालनमा समेत बाधा झेल्नुपर्ने समय छ । खातापातालाई दुरुस्त बनाइने छ, उठ्ती र सापटीको हिसाबमिलान गर्न सकिन्छ । कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सक्नुहुन्छ ।

कर्कट~ (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रायः सबै काममा तपाईंकै संयोजकत्व र भूमिका रहने देखिन्छ, तर पनि केही समय व्यक्तिगत खुसी र आन्तरिक आवश्यकताका लागि छुट्याउनु पर्ने हुन्छ । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला ।

सिंह~ (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ, लाभमूलक काममा कार्यालयबाहिरको काममा पनि खट्न सकिने छ । तर कर्तव्य र जिम्मेबारीप्रति सचेत हुनुपर्छ । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । मन उदासीन हुने र जीवनीशक्तिमा कमी भएको अनुभव हुनेछ । व्यर्थको चिन्तन र निराशामा घोरिनुभन्दा कर्मशील हुनु राम्रो हो ।

कन्या ~(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्नसक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुस हटेर जानेछन् । नयाँ ठाउँको यात्रा वा नयाँ मित्रको सङ्गतबाट आनन्द लिने समय हो । प्रतिष्ठित व्यक्तिलाई मित्र बनाउन पाउँदा दङ्ग पर्न सक्नुहुन्छ । कुनै प्रस्तावउपर विचार/विमर्श हुने दिन हो, आजको त्याग र साधनाबाट भविष्य सुदृढ बन्नेछ, खर्चमा कटौती गरेर भए पनि लगानी गर्नु ठीक हुन्छ ।

तुला~ (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मिहिनेतले भविष्य सुध्रनेछ, करियर र व्यवसायप्रतिको चासो बढ्नेछ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो । दायित्व र जिम्मेबारी थपिने समय हो, कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको सान्निध्य पाइने तथा विचार र भावना ग्रहण गर्ने दिन हो, सेवाचाकरीमा पनि केही समय दिनुपर्ने हुन्छ । कर्मको प्रतिफल हात पार्ने तथा पदासीन व्यक्तित्वसँग निकटता बढ्ने दिन हो, लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिने छ ।

बृश्चिक~ (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

हाकिम वा सिनियर कर्मचारीबाट स्यावासी पाउने दिन हो । आज घरमा सम्पर्क राखी मातापिताको आशीर्वाद लिएको जाती हुन्छ । कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ आदिले कारोबारमा सफलता दिलाउनेछन् । अरुका नकारात्मक कुरामा ध्यान नदिई काममा मात्र फोकस गर्ने दिन हो । पतिपत्नीका बीचमा कुनै विवाद छ भने भलाकुसारीका माध्यमबाट त्यसलाई हल गर्न एकसाथ कतै घुमघाममा वा किनमेलमा जाने अनुकूलता मिलाउनु ठीक हुन्छ ।

धनु ~(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

परिस्थिति विपक्षमा रहेकाले यति वेला कुनै पनि नयाँ निर्णय लिनु हुँदैन, बरु व्यवस्थापन पक्ष र कामदारहरूका बीचमा सन्तुलन कायम राख्ने प्रयास गर्नुहोला । मनोबल र आँतमा कमजोरी देखा पर्नसक्छ, कामधाम र जिम्मेबारीमा मात्र होइन, आफ्नो तन्दुरुस्ती र स्वास्थ्यपक्षको पनि ख्याल राख्नुपर्छ । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ ।

मकर~ (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ, मन उत्सुक र आशावादी बन्ने दिन हो, त्यसैले महत्त्वपूर्ण निर्णय लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निर्णयले भाग्यको ढोका उघ्रिने समय छ । कार्यक्षेत्रमा सफल हुने दिन हो, तर आफ्‌नो काममा मात्र एकोहोरिनुभन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो । मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्‌ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्‌नु जाती हुन्छ ।

कुम्भ~ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, सुखसुविधा भनेको केवल साधनमात्र हो । व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । दोधारेपन, अलमल र चिडचिडेपन हाबी हुने दिन हो, अझ पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति शङ्का उब्जनाले दिक्क लाग्ने समय छ ।

मीन~ (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

छोराछोरीले काममा सघाउनेछन्, दैनिक कामबाट फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । छोराछोरीको क्रियाकलाप र उन्नति/प्रगति देखेर दंग पर्ने तथा सुखानुभूति हुने दिन हो । परिवारजनको सहमति जुट्नाले नचिताएको काम सम्पन्न गर्न सकिने छ । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ ।

ज्योतिष;
आचार्य पवित्र :९८६७२७८८०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?