गुरुदेव खनाल कपिलवस्तु।
मङ्गलबार प्रकाशित समाचार,
मन्जुश्री सहकारी पीडितका पक्षमा आवाज उठाउने रिखिराम भट्टराई धरौटीमा रिहा भएका छन् स्वतन्त्र नागरिक आवाजका अध्यक्ष तथा सामाजिक अभियान्ता रिखिराम भट्टराई मन्जुश्री सहकारी पीडितको बचत फिर्ताका लागि सहयोग गर्ने क्रममा गिरफ्तार भएका थिए।
जिल्ला अदालत कपिलवस्तुले गरेको फैसला अनुसार उनी १४ दिन प्रहरी हिरासतमा बसेपछि १५ हजार रुपैयाँ धरौटी तिरेर फागुन १० गते आइतबार रिहा भएका छन्। भट्टराईले बाणगंगा नगरपालिकामा अवस्थित मन्जुश्री सहकारीका पीडित बचतकर्ताहरूको रकम फिर्ता गराउन विगतदेखि निरन्तर अभियान सञ्चालन गर्दै आएका थिए।
सहकारी पीडितहरूको पक्षमा उभिँदै विभिन्न चरणमा वार्ता, दबाबमूलक कार्यक्रम तथा कानुनी पहलमार्फत सहयोग पुर्याउँदै आएका उनको अभियानलाई स्थानीय स्तरमा व्यापक समर्थन प्राप्त हुँदै आएको थियो।
यसअघि करिब एक वर्ष अगाडि भट्टराईकै नेतृत्व र पहलमा मन्जुश्री सहकारी पीडितहरूलाई ३५ लाख रुपैयाँ बराबरको चेक उपलब्ध गराइएको थियो।
उक्त सहयोगले पीडित बचतकर्ताहरूलाई आंशिक राहत प्रदान गरेको थियो।धरौटीमा रिहा भएसँगै भट्टराईले पुनः सहकारी पीडितहरूको न्यायका लागि आफ्नो अभियान जारी राख्ने संकेत दिएका छन्।
उनका समर्थक तथा सहकारी पीडितहरूले रिहाइलाई स्वागत गर्दै सहकारीमा फसेको सम्पूर्ण बचत रकम फिर्ता गराउने अभियानलाई अझ सशक्त बनाउने बताएका छन्।


