कांग्रेस संसदीय दलको नेता छान्न आज निर्वाचन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । कांग्रेसले पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिले वैशाख ७ गते सार्वजनिक गरेको ‘निर्वाचन कार्यक्रम’ अनुसार आज निर्वाचन हुनेछ । यसअघि बिहीबार मतदाताको नामावली प्रकाशित गरिएको थियो ।दलको नेताका लागि उम्मेदवारी दर्ता र निर्वाचन आज नै हुने तय भएको छ । उम्मेदवारी दर्ताका लागि आज दिउँसो ३ बजेदेखिको समय तोकिएको छ । निर्वाचनका लागि भने अपराह्न ५ बजेदेखिको समय तोकिएको छ ।

कांग्रेसबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ जितेका १८ र समानुपातिक प्रणालीबाट सांसद भएका २० गरी ३८ सांसद छन् । प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले संसदीय दलको नेतामा आकाङ्क्षा गर्ने धेरै छन् । अहिलेसम्म नेतामा ३ सांसद आकाङ्क्षी रहेको कांग्रेस नेताहरू बताउँछन् ।

भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यले दलको नेताका लागि दाबी प्रस्तुत गर्दै आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरिरहेका छन् ।पछिल्लो समय विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर भन्दै दुई गुटमा विभाजित कांग्रेसमा केसी र आचार्य विशेष महाधिवेशन पक्षधर (अहिलेको संस्थापन) र आङ्देम्बे नियमित महाधिवेशन पक्षधर हुन् ।

संसदीय दलको नेतामा आङदेम्बेलाई वर्तमान उपसभापति विश्वप्रकाश शर्मा, निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा शेखर कोइराला समूहले समर्थन गरेका छन् । उपसभापति शर्मा आङ्देम्बेतिर लागेपछि उनी निकटका सांसद निश्कल राईसहित पनि आङदेम्बेकै पक्षमा छन् ।सभापति गगन थापासहित उपसभापति शर्मा बाहेकका पदाधिकारी भने केसीको पक्षमा छन् । केसी कांग्रेस सभापति थापाका ससुरा हुन् । सभापति थापा केसीलाई दलको नेता बनाउँदा परिवारको आरोप लाग्छ कि भनेर पदाधिकारीहरूलाई बताइरहेका छन् ।

कांग्रेसमा लामो समय सर्वसम्मत दलको नेता बनाउन प्रयास गरे पनि त्यो सफल हुन सकेको छैन । सहमतिका लागि प्रयासरत नेताहरूका अनुसार कसैले पनि दाबी छोड्ने सम्भावना अहिलेसम्म देखिएको छैन ।कांग्रेसको संसदीय इतिहासमा २०६४ को निर्वाचनपछि अहिलेसम्म दलको नेता निर्वाचनबाटै छानिएका छन् । अहिले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई सर्वोच्च अदालतले आधिकारिकता दिएपछि आन्तरिक गुटबन्दी चरमोत्कर्षमा पुगेको छ । तसर्थ मतदानमार्फत् दलको नेता चयन हुने सम्भावना प्रबल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?