सप्तरीको राजविराज भन्सार कार्यालयस्थित प्रहरी बिटमा रकम लिँदै गरेको दृश्य खिच्दा नयाँ पत्रिकाकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका– १ मा रहेको प्रहरी बिटमा प्रहरी कर्मचारीले महिला व्यापारीसँग पैसा लिँदै गरेको फोटो तथा भिडियो खिच्न लागेका पत्रकार सौरभ यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नेपाल प्रहरीका हबल्दार डी. यादवले नयाँ पत्रिका दैनिकका सप्तरी संवाददाता सौरभ यादवलाई नियन्त्रणमा लिएका हुन्। प्रहरीले यादवलाई करिब १५ मिनेट नियन्त्रणमा राखेर छाडेको छ।
यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि गम्भीर प्रश्न उठेको भन्दै नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष रामनारायण विश्वासले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।


