तिलोत्तमा, रुपन्देही — साहित्य, सङ्गीत र कलाको अनुपम संगमका रूपमा ‘परमानन्द काव्य–वाटिका (माघ शुक्ल सप्तमी)’ कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम मिति २०८२ माघ ११ गते, आज साँझ ७:०० बजेदेखि श्री दुर्गा वैदिक परमानन्द सन्यास आश्रम, तिलोत्तमा–१, रुपन्देहीमा सञ्चालन हुने आयोजकले जनाएको छ।
कार्यक्रममा वरिष्ठ साहित्यकार नारायण लम्साल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। श्री दुर्गा वैदिक पूर्व विद्यार्थी मञ्च तथा श्री परमानन्द विद्यार्थी कल्याण परिषद् तिलोत्तमा–१ को संयुक्त आयोजनामा हुने उक्त कार्यक्रममा कविता वाचन, सांगीतिक प्रस्तुति तथा आध्यात्मिक चिन्तन प्रस्तुत गरिनेछ।
आयोजकका अनुसार साहित्यप्रेमी, विद्यार्थी तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई साहित्यिक र सांस्कृतिक रसास्वादन गर्न आग्रह गरिएको छ।


