जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले माघ ९ गते शुक्रवार दिउँसोदेखि माघ १० गते शनिवार बिहानसम्म विभिन्न ठाउँमा वर्षा/हिमपातको सम्भावना रहेको बताएको छ। स्वतन्त्र मौसमविदहरूले पनि यो सम्भावना औंल्याएका छन्।
यसअघि पश्चिमबाट सुख्खा हावा आइरहे पनि शुक्रबार दिउँसोबाट भने पानी पार्ने सम्भावनासहितको बादलको आगमन हुन लागेको हो।
बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू~भागका थोरै स्थानहरूमा मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।
महाशाखाका अनुसार,कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू~भागका १-२ स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ।
मधेस प्रदेसमा भने यसपटक वर्षाको सम्भावना छैन।
गण्डकी प्रदेश थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा, उच्च पहाडी तथा हिमाली भू~भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको अद्यावधिक सूचनामा जनाइएको छ। कर्णाली प्रदेशमा पनि केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ। सुदूरपश्चिम प्रदेश केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ।

