काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पक्राउ गर्न अमेरिकाले सञ्चालन गरेको सैन्य कारबाहीको विस्तृत विवरण सार्वजनिक भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष आदेशमा गरिएको यस अपरेसनलाई अमेरिकी सेनाले ‘अपरेसन एब्सोल्युट रिजोल्भ’ नाम दिएको थियो ।अमेरिकी सैन्य स्रोतहरूका अनुसार, यो अपरेसन जनवरी २ को राति सुरु भएको थियो । स्थानीय समयअनुसार राति ११ः४६ बजे (जनवरी ३ को ०३ः४६ जिएमटी) राष्ट्रपति ट्रम्पले काराकासमा अपरेसन अघि बढाउन अन्तिम अनुमति दिएका थिए । त्यसलगत्तै पश्चिमी गोलाद्र्धका २० वटा फरक–फरक सैन्य हवाई अड्डाबाट करिब १५० वटा विमानले एकैसाथ उडान भरेका थिए ।
हवाई सुरक्षा प्रणाली निष्क्रिय
अपरेसनको सुरुआती चरणमा अमेरिकी सेनाले भेनेजुएलाको हवाई सुरक्षा प्रणाली निष्क्रिय पारेको जनाएको छ । त्यसपछि हेलिकप्टरहरू राजधानी काराकासस्थित राष्ट्रपति मादुरोको निवासतर्फ अघि बढेका थिए।


