
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीचको भेटवार्ताले नेपाली राजनीतिमा चर्चा पाएको छ ।
रवि कारागारबाट छुटेपछि देखिएको राजनीतिक सक्रियता र बालेनसँगको भेटलाई राजनीतिक वृतमा चुनावी सहकार्यका रुपमा चर्चा गरिएको हो ।सोमबारको भेट भने रास्वपा केन्द्रीय सदस्य असिम साहको घरमा भएको हो । सोमबार राति ८ बजेदेखि साह निवासमा भेट भएका बालेन र रवि राति १ बजेमात्र त्यहाँबाट बाहिरिएका थिए ।छलफलमा बालेनका तर्फबाट उनका सहयोगी कुमार बेन र निश्चल बस्नेत सहभागी थिए । रास्वपाका तर्फबाट उपसभापति डीपी अर्याल र केन्द्रीय सदस्य असिम साह सहभागी थिए ।छलफल सहकार्यमा केन्द्रित भएको बताइएको छ । ‘छलफल प्रगतिउन्मुख छ ।
कसरी सहकार्य गर्ने भन्नेमै केन्द्रित कुरा भयो’ सहभागी एक नेताले भने । भेटमा अबको निर्वाचनमा रास्वपाको तर्फबाट बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव भएको पनि बताइएको छ ।रास्वपाका केन्द्रीय सदस्य असिम साहको घरमा भएको हो । रवि र बालेनको भेटपछि साहले सामाजिक सञ्जालमा कथाको सुखद् सुरुवात भएको बताएका छन् । उनले रवि र बालेनको भेटलाई दुई दाजु भाइको मिलनको संज्ञासमेत दिएका छन् ।
उनले यो व्यक्तिले नभएर देशले खोजेको आशाको मिलन भएको दाबी गर्दै सबै नेपालीलाई बधाईसमेत दिएका छन् ।कुराकानी के भयो र छलफल के मा केन्द्रित थियो भन्ने नखोलेका नेता साह भन्छन्, ‘अन्ततः कथाको सुखद् सुरुवात भएको छ । रवि र बालेन दुई दाजुभाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’यत्ति लामो छलफल भए पनि कुनै समूहले भेटवार्ताबारे औपचारिक विषय सार्वजनिक गरेका छैनन् । लामो भेटवार्तावार्तापछि सभापति लामिछाने र मेयर बालेन एउटै गाडीबाट बाहिरिएको दृश्य भने सामाजिक सञ्जालमा चर्चामा छ ।


