नेपाल प्रेस खबर, बुद्धभुमी रुपन्देही:
आज नेपालमा सूर्योदय,बिहान ०६:४१ बजे र सूर्यास्त,साँझ ०५:०६ बजे हुनेछ भने चन्द्रोदय, बिहान ०७:३० बजे र चन्द्रास्त, साँझ ०५:३८ बजे हुनेछ।
मेष~ (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मान्यजन र उच्चपदस्थ व्यक्तिहरूबाट समर्थन र सहयोग जुटाउन सकिने छ, बलियो भाग्यबल रहेको छ । हाँके/ताकेका हरेक क्रियाकलापमा सफलता पाउन सक्नुहुन्छ । इज्जत र प्रतिष्ठालाई दाउमा राखेर काम नगर्नुहोला, जीवनमा पैसा नै सबथोक होइन, आफ्नो कर्तव्य र स्वास्थ्यका बारेमा पनि ध्यानकेन्द्रित गर्नुपर्छ । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो ।
बृष~ (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ । कसैको चित्त दुखाएर फाइदा लिने कोशिस गर्नुहुँदैन, दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । हतारमा लिएको निर्णय गलत हुनसक्छ, त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ, तर कागजपत्रमा सहीछाप गर्दा सतर्कता अपनाउनु होला ।
मिथुन~ (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेमभाव प्रकट गर्न अनुकूल समय छ, पार्टनरको इच्छानुसार चल्नुपर्दा कार्यक्षेत्रमा समस्या आउने भएकाले महत्त्वपूर्ण काम बेलैमा गरिहाल्नु ठीक हुनेछ । मन फुरुङ्ग हुने दिन छ । गीतसङ्गीत एवं ललितकलाका अन्य विषयहरूमा तथा सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुहरूमा झुकाव बढ्नेछ । मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ ।
कर्कट ~(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो, आजको दिनअध्ययनप्रति मात्र होइन, स्वास्थ्यस्थिति एवं आहार/विहारप्रति पनि ध्यान दिनु ठीक हुन्छ । प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पर्द्धा गर्ने दिन हो । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ, कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन हो, त्यसैले मुखमा लगाम लगाएकै जाती हुन्छ ।
सिंह~ (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ईर्ष्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ । मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । आज सफलताले प्रतीक्षा गरिरहेको दिन हो, त्यसैले सानातिना कुराहरूको बेवास्ता गर्दै ठूला र राम्रा काम बनाउने प्रयास गर्नुपर्छ ।
कन्या~ (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावनाप्रधान दिन हो, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । नसोचेको धन प्राप्त हुने वा कतैबाट ऋण/सापटीमा रकम उठाउने समय हो, तर धनको स्थिरता र वचतमा ध्यान दिनु आवश्यक देखिन्छ । घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ ।
तुला~ (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतको राम्रो नतिजा प्राप्त हुने समय हो, सोचेको उपलब्धी हात पार्नाले साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर मिल्नेछ । परिश्रमको प्रतिफल पाउने समय हो, यसबाट तपाईंको शक्ति र प्रतिष्ठामा बृद्धि हुनसक्छ । आफ्नो आन्तरिक ऊर्जा र मानसिक क्षमतालाई उपयोग गर्नुहोस्, कुनै पनि समस्यालाई सजिलै समाधान गर्न सक्नुहुन्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता हासिल हुनेछ, त्यस्तै देखिएका चुनौती निवारण गर्न सहकर्मी वा हाकिमको सहयोग प्राप्त हुनेछ ।
बृश्चिक~ (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आध्यात्मिक वा दार्शनिक विषयवस्तुप्रति मोह जाग्नेछ, नजानेको कुनै सीपका बारेमा समेत जानकारी बटुल्न सकिने छ, प्रयास गरेको काममा सफलता मिल्नेछ । कामबाट फाइदा हुनेछ, रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरू सफल हुनेछन्, तर नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ । मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने छ, तर कुनैकुनै कुराले तपाईंलाई एक्लो र खिन्न बनाउन सक्छ ।
धनु ~(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ । आफ्नो रुचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खूबी र क्षमताको पहिचान हुने समय छ ।
मकर ~(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, बढी खर्च हुने परिस्थिति छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्छ । महत्त्वाकाङ्क्षा राख्नुहुँदैन, नत्र व्यावहारिक समस्या र अपजस खेप्नुपर्ने समय छ । कतिपय स्थितिमा थालेको काम पनि बीचमा नै छाड्नुपर्ने हुन्छ । पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोला, नत्र आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन हो ।
कुम्भ~ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घरमा अभिभावकवर्ग तथा कार्यक्षेत्रमा सिनियर्सका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता पाउन सकिने दिन हो । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । अनुकूल स्थानान्तरणको योग छ, सम्बद्ध निकायमा कुरा राख्न अनुकूल समय छ । त्यस्तै बढुवा हुनुछ भने ठीक ढंगले तैयारी गर्नुहोला । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ ।
मीन~ (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ । मिहिनेत गर्नुपर्ने दिन हो, कुनै परीक्षा वा प्रतिस्पर्द्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ ।
ज्योतिष;
आचार्य पवित्र :९८६७२७८८०२

