स्वतन्त्र नागरिक समाज अर्घाखाँची का निर्णयहरु:
1) जिल्ला प्रशासन कार्यालयमा निर्माणाधीन करिब रु. ५ करोड ४२ लाख लागतको जिल्ला प्रशासन प्रशासकीय भवनको औचित्य, प्रयोजन तथा प्राथमिकता बारे स्पष्ट जानकारी माग गर्ने। उक्त भवन निर्माण वास्तवमै प्रशासनिक आवश्यकता अनुरूप प्राथमिक परियोजना हो कि होइन भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयबाट आधिकारिक सूचना माग गर्ने निर्णय गरिएको छ।
2) जिल्ला अस्पताल सेवाको सुदृढीकरण:
जिल्ला अस्पताल अर्घाखाँचीमा दरबन्दी अनुसारका चिकित्सक (डाक्टर) हरू सधैँ नियुक्त रहनुपर्ने व्यवस्था सुनिश्चित गर्न माग गर्ने।
असाधारण कारणले पद रिक्त भएमा तत्काल वैकल्पिक व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने।
अस्पतालमा आवश्यक बजेट सधैं उपलब्ध गराउने र अनावश्यक वा औचित्यहीन बजेट कटौती रोक्न माग गर्ने।
गुरु योजनाअनुसार अस्पताल भवन निर्माणमा प्राथमिकता दिन र गुरु–योजना विना निर्माण भइरहेका कर्मचारी आवास भवनहरू रोक्दै त्यसको सट्टा अस्पतालका लागि आवश्यक आधुनिक उपकरण (equipment) खरिदमा बजेट प्रयोग गर्न माग गर्ने।
3) देशव्यापी भ्रष्टाचार र कुशासन विरुद्धको “जेनजी आन्दोलन” मा शहादत प्राप्त गर्ने अर्घाखाँचीका वीर पुत्र माधव सारुको सम्झनामा प्रतिमा/शालिक निर्माण गर्ने र त्यसका लागि जिल्ला–व्यापी अभियान सञ्चालन गर्ने ।
4) जिल्ला भित्रका सरकारी कार्यालय तथा स्थानीय तहहरूको कार्य सम्पादन, सेवा प्रवाह र जन उत्तर दायित्वको अनुगमन निरन्तर गर्ने, र नागरिक सचेतना तथा खबरदारी अभियान सञ्चालन गर्ने
5) जनहित, सार्वजनिक सरोकार, बजेट विनियोजन र सचेतना मूलक कार्यक्रमहरू लाई बढी पारदर्शी र पहुँच योग्य बनाउनका लागि जिल्लाका सबै सरकारी कार्यालय, पालिका र स्थानीय तह हरूका कार्यक्रमहरू प्रत्यक्ष (live) प्रसारण गर्न अनुरोध गर्ने।
6) जिल्लामा व्याप्त भ्रष्टाचार, कुशासन तथा शोषित पीडित जनताको समस्याका तत्कालीन समाधान र सहयोगका लागि स्वतन्त्र नागरिक समाजबाट मोबाइल सेवा नम्बर सञ्चालन गर्ने।
7) सन्धिखर्कमा रहेको टुँडिखेललाई विस्तार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेल प्रतियोगिता आयोजना गर्न सक्ने “शहीद माधव सारु मगर रंगशाला” को रूपमा विकास गर्ने निर्णय।
यसका लागि आवश्यक जग्गा व्यवस्थापनका क्रममा सभागृह हल क्षेत्रको पार्किङ्ग, जिविस कार्यालयको प्राविधिक भवन क्षेत्र, हुलाक कार्यालय र बाल मन्दिर क्षेत्र समेत समावेश गर्ने तथा आवश्यक परे जिल्ला प्रशासन कार्यालयको परिसर समेत समायोजन गर्न पहल गर्ने। यसको लागि सम्बन्धित निकायमा पहल गर्ने ?
8) सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाइ आयोजना/समितिमा विद्यमान राजनीतिक भागबण्डा अन्त्य गर्ने, उपभोक्ता बाट गैर दलीय समिति गठन गर्ने, र उक्त समितिमा कुनै राजनीतिक दलका सदस्य वा राजनीतिक नियुक्त व्यक्ति सहभागी हुन नपाउने व्यवस्था गर्ने निर्णय गरिएको छ।


