नेपाल प्रेस खबर, बुद्धभुमी रुपन्देही:
आज नेपालमा सूर्योदय, बिहान ०५:४४ बजे र सूर्यास्त,साँझ ०५:५० बजे हुनेछ भने चन्द्रोदय,बिहान ०६:४९ बजे र चन्द्रास्त, साँझ ०६:३३ बजे हुनेछ।
मेष ~(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चुनौतीका माझ मोटो रकम हातलागी हुने दिन हो, रातो रङका चिजबीज, लताकपडा, बृक्ष वनस्पति, शैक्षिक प्रतिष्ठान, औषधी र खाद्यान्नका क्षेत्रमा राम्रो देखिन्छ । घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ, खिसीट्युरी गर्नेसित सतर्क रहनुपर्छ, नत्र ठूलो कलहको वातावरण बन्नसक्छ । पढाइमा परिश्रम गरे अनुसार प्रतिफल पाइनेछ । सिर्जनात्मक क्रियाकलापमा समेत संलग्न भइने छ, साहसी वा पराक्रमी काममा पनि मन जानसक्छ ।
बृष~ (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कसैप्रति अलि बढी आकर्षित हुनपुगेको भान हुनेछ, तर यतिवेला आफ्ना विचार र भावनामाथि नियन्त्रण गर्नु समुचित हुनेछ । बुद्धिकौशलको प्रयोग गरी चलाखीपूर्वक काम गर्दा अतिरिक्त पैसा हातलागी हुनेछ । बुद्धिले भाउ पाउने समय हो, लेखन, कला वा संगीतजस्ता अतिरिक्त क्रियाकलापमा रुचि राख्नुहुन्छ भने आज सहकर्मीका माझमा प्रतिष्ठित बन्न पाइने छ । मनको कुरो खुलस्त पार्ने दिन हो, पार्टनरसँग असन्तुष्टि र निराशाका बारेमा बताउनुहोला, एकअर्काको मनोभाव बुझी काम गर्नसके सम्बन्धमा दृढता आउनेछ ।
मिथुन~ (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कानून र प्रावधानलाई कडाइका साथ पालना गर्नुपर्छ । अधीनस्थहरूलाई बढी विश्वास गर्नुहुँदैन, बरु सहकर्मीका माझमा सद्भाव र समझदारी बढाउनु होला । अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका वा भोगविलासका सामाग्रीमा फाइदा हुनेछ, आजको केही समय घरपरिवारमा खर्च गरेको जाती हुन्छ । घरपरिवारमा राम्रो देखिन्छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ ।
कर्कट~ (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विद्वान् व्यक्तिका साथमा निकटता बढ्ने समय हो, नजानेको कुनै कुरा छ भने दाजु/दिदी वा गुरु/गुरुआमाको सहायता लिंदा लाभ पाइने छ । दाजुभाइ, दिदीबहिनी वा छरछिमेकीको सहयोग गर्ने हुँदा केही समय बित्नसक्छ । आज व्यक्तिगत पहिचान र प्रतिष्ठा एवं व्यवसायिक स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्ने दिन हो । व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षा/अन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ ।
सिंह~ (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ । आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो, कुरा काट्नेहरूले तपाईंको छिद्र खोतल्ने प्रयास गर्नेछन् । कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ तपाईंको व्यवसाय बढाउने उत्तम तरिका बन्नसक्छ । मानिसहरूको नकारात्मक प्रतिक्रियालाई बेवास्ता गर्दै आफ्नो कर्ममा ध्यान दिने समय हो ।
कन्या~ (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय छ । प्रियजनसँग भेटघाट हुनेछ अथवा आश मारेको वस्तु वा धन हात पार्न सकिने छ । कृषिक्षेत्र, बनबुट्यान, काठपात र औषधी व्यवसायीका लागि राम्रो दिन छ, नयाँ काममा हात हाल्ने वा स्थिर काममा थप लगानी गर्ने समय हो । आत्मबल र जोसजाँगर बढ्नेछ, घरायसी काम समयमैं टुङ्ग्याइने छ, भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउन पाउने र घुमफिरमा निस्कने समय हो ।
तुला~ (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन हो । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु होला, गरेका प्रयास र उद्यममा अलिबढी सङ्घर्ष र चुनौती झेल्ने समय छ । बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । समयमा काम गर्न नसक्दा विशेष अवसर फुत्कन सक्छ । आर्थिक सङ्कटले पनि तनाव बढ्नसक्छ । कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ ।
बृश्चिक~ (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सरकारी काम, ठेकापट्टा आदिमा अड्किएको काम फुकाउन सकिने समय हो, प्रयास गरेमा अन्य काममा समेत लाभ पाउने समय हो । पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूर्ण विषयमा लाभ लिन सकिने छ । दाजुभाइ र बन्धुबान्धवका बीचमा उन्नति/प्रगतिको चर्चा हुनेछ, तपाईंको परिश्रमको प्रशंसा हुने वा कमजोरीको विश्लेषण गर्दै सुझाव प्राप्त हुने समय छ ।
धनु~ (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । दायित्व र जिम्मेबारी थपिने समय हो, कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको सान्निध्य पाइने तथा विचार र भावना ग्रहण गर्ने दिन हो, सेवाचाकरीमा पनि केही समय दिनुपर्ने हुन्छ ।
मकर~ (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो । विदेशी परियोजनामा काम गरेमा सुसुप्त चाहनालाई जीवन्त तुल्याउन सकिने छ । रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ ।
कुम्भ~ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लक्ष्यप्रति ध्यानकेन्द्रित नहुने समय छ, चोटपटक वा दुर्घटनाबाट बच्न सावधानी अपनाउनु ठीक हुन्छ, अनि आज कार्यक्षेत्रको बोझ घरमा लिएर जानु हुँदैन । पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो । अत्यास लाग्ने दिन छ, आफ्नै वा परिवारको कुनै स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्न सक्छ । धार्मिक र रहस्यात्मक विषयमा रुचि जाग्नेछ ।
मीन~ (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रूपसौन्दर्य र गहनागुरियामा आकर्षण बढ्नेछ, सिर्जनात्मक काम गीतसङ्गीत, नृत्य/अभिनय वा कला र साहित्यका विषयमा रुचि जाग्ने समय हो । सुख/सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ । सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ, मन उत्सुक र आशावादी बन्ने दिन हो, त्यसैले महत्त्वपूर्ण निर्णय लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निर्णयले भाग्यको ढोका उघ्रिने समय छ ।
ज्योतिष;
आचार्य पवित्र :९८६७२७८८०२

