भद्रपुर । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र, क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा मात्रै रु एक अर्ब २३ करोड ५३ लाख ८६ हजार बराबरको कृषि जन्य वस्तु निर्यात भएको छ ।
कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यातमा मुख्यत: अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसो लगायतका वस्तु रहेका छन् । निर्यात हुने वस्तुमध्ये सबैभन्दा बढी चिया रु ३७ करोड ९८ लाख ६८ हजार, अलैँची रु ३२ करोड ४३ लाख २१ हजार, प्लाइ तथा भेनियर रु २६ करोड ८७ लाख र अम्लिसो रु ८ करोड ८७ लाख बराबर रहेको छ । त्यस्तै, अदुवा रु ६ करोड १० लाख, बन्दा रु ४ करोड ७ लाख र मसुरो दाल रु २ करोड १३ लाख बराबर निर्यात भएको छ ।
उक्त अवधिमा पूर्वी नाकाबाट रु १ अर्ब ६९ करोड १७ लाख ५२ हजार बराबरको कृषिजन्य वस्तु आयात पनि भएको कार्यालयले जनाएको छ । आयातमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, फलफूल, लसुन, आलु, मकै, पशु दाना लगायतका वस्तु प्रमुख रहेका छन् ।


