आफ्नै आमाबाबुबाट पराइ बनेको छोरो
एउटा यस्तो छोराको कथा, जो परिवारका लागि परदेशियो, तर आफ्नै परिवारभित्र पराइ
रातको करिब १२ बजेको थियो।
विदेशको एउटा अपरिचित सहरमा रहेको सानो कोठाको झ्यालबाहिर चिसो हावा चलिरहेको थियो। दिनभरको कामले शरीर थाकेर लखतरान थियो। हातका औँलाहरू दुखिरहेका थिए। खुट्टा सुन्निएका थिए। भोलि बिहान फेरि उही समयमा काममा जानुपर्ने थियो।
ओछ्यानको एउटा कुनामा पल्टिएको रमेश मोबाइल चलाइरहेको थियो। नेपालबाट आमाको ह्वाट्सएप सन्देश आएको रहेछ।
उसले मोबाइल खोलेर हेर्यो।
’बाबु, घरको बिजुलीको बिल आएको छ। यति पैसा पठाइदेऊ। पानीको पनि तिर्न बाँकी छ। अनलाइनबाट तिरिदेऊ है।’
रमेशले सन्देश पढ्यो। केही बेर मोबाइलको स्क्रिन हेरिरह्यो। त्यसपछि कुनै जवाफ नलेखी मोबाइल सिरानीमा राख्यो।
उसको आँखाअगाडि एकाएक नेपालमा रहेको आफ्नो घर, श्रीमती र साना छोराछोरीको अनुहार घुम्न थाल्यो।
उसले मनमनै सोच्यो, ‘म पनि त यही घरको छोरो हुँ। मेरो पनि त परिवार छ। मेरा पनि त खर्च छन्। मैले पनि त आफ्नो जीवन चलाउनुपर्छ।’
तर यो कुरा कसलाई सुनाउने?
उसको भागमा त पैसा पठाउने जिम्मेवारी मात्रै परेको थियो।
रमेश कुनै रहरले परदेशिएको थिएन। गाउँको घरमा बसेर परिवार पाल्न पर्याप्त आम्दानी थिएन। छोराछोरीको भविष्य, श्रीमतीको आवश्यकता र घरको आर्थिक अवस्थाले उसलाई विदेश जान बाध्य बनाएको थियो।
नेपाल छोड्ने दिन आमाले निधारमा टीका लगाइदिँदै भनेकी थिइन्, ‘बाबु, आफ्नो ख्याल राख्नू है। धेरै दुःख नगर्नू।’
त्यतिबेला रमेशले आमाको हात समातेर भनेको थियो, ‘आमा, केही वर्ष दुःख गर्छु। त्यसपछि फर्केर आफ्नै घरमा बस्छु।’
तर परदेशिएको केही वर्षमै उसले एउटा कुरा बुझिसकेको थियो—परदेशमा पैसा कमाउनुभन्दा ठूलो कुरा त्यहाँ आफ्नो शरीर, समय र जवानी बेचेर बाँच्नु रहेछ।
उसले विदेशमा पैसा कमाइरहेको थियो, तर आफ्नो जीवनको सबैभन्दा सुन्दर समय गुमाइरहेको थियो।
नेपालमा रमेशका आमाबुवा अझै गाउँकै पुरानो घरमा बस्थे। घरको केही भाग भाडामा लगाइएको थियो। त्यो घरभाडाबाट आउने रकम बुवाआमाले बुझ्थे। तर रमेशलाई कहिल्यै त्यसबाट केही सहयोग गरिएको थिएन।
बरु घरभाडा बुझ्नेबित्तिकै छोरीलाई फोन जान्थ्यो।
’छोरी, घरभाडा आएको छ। तिमीलाई केही चाहिएको थियो नि, पैसा पठाइदिऊँ?’
छोरी सरिताको घर काठमाडौँमा थियो। श्रीमान् राम्रो जागिरमा थिए। सरिता आफैँ पनि जागिरे थिइन्। आर्थिक अवस्था राम्रै थियो। तर आमाबुवाका लागि उनी सधैँ दुःखमा परेकी छोरी थिइन्।
आमाको मनमा छोरीका लागि छुट्टै माया थियो। बुवाको मनमा पनि छोरीप्रतिको विशेष स्नेह थियो।
सरिताका छोराछोरीलाई चाडपर्व आउनुअघि नै नयाँ लुगा, जुत्ता र खेलौना पुग्थे। जन्मदिनमा उपहार पुग्थे। स्कुल खुलेपछि आवश्यक सामग्री किनिदिन्थे।
आमाले फोन गरेर सोध्थिन्, ‘नातिनातिनालाई के चाहिएको छ? भन है, नानीहरूलाई मन परेको कुरा किनिदिन्छु।’
तर रमेशका छोराछोरीको अवस्था कसैले सोध्दैनथ्यो।
उनीहरूका लागि स्कुलको फिस तिर्नसमेत कहिलेकाहीँ समस्या पर्थ्यो। बाबु परदेशमा थिए। आमाले घरको खर्च, छोराछोरीको पढाइ र दैनिक जीवन धान्न संघर्ष गरिरहेकी थिइन्।
एकपटक रमेशकी श्रीमतीले सासूलाई फोन गरेर भनिन्, ‘आमा, बाबुको स्कुलको फिस तिर्न अलि समस्या भयो। केही दिनका लागि सहयोग मिल्थ्यो कि?’
उताबाट जवाफ आयो, ‘हामीलाई पनि खर्च छ बुहारी। बाबु विदेशमा छ नि, उसैलाई भन न।’
बुहारी केही बेर मौन भइन्।
उनले मनमनै सोचिन्, ‘बाबु विदेशमा छ भन्दैमा उसको घरमा पैसाको वर्षा हुन्छ र?’
तर उनले केही बोलिनन्।
किनकि उनी जान्थिन्, बोलेको कुरा अन्ततः आफ्नै श्रीमान्सम्म पुग्नेछ। अनि परदेशमा एक्लै संघर्ष गरिरहेको मानिसको मन थप दुख्नेछ।
रमेशका बुवाले आफ्नो वृद्धभत्ता बुझ्थे। त्यो रकम पनि कहिलेकाहीँ छोरीलाई सहयोग गर्न प्रयोग हुन्थ्यो।
रमेशलाई त्यसमा कुनै आपत्ति थिएन। छोरीलाई सहयोग गर्नु गलत होइन। दिदीबहिनीलाई माया गर्नु पनि नराम्रो होइन।
तर उसको मनमा एउटा प्रश्न बारम्बार उठ्थ्यो।
’आमाबुवाको माया छोरीको छोराछोरीका लागि मात्रै हो कि छोराको छोराछोरीका लागि पनि हो?’
के उसको छोराछोरी नातिनातिना होइनन्?
के उनीहरूको पेट भोकाउँदैन?
के उनीहरूलाई पनि नयाँ लुगा लगाउने रहर हुँदैन?
के उनीहरूलाई पनि हजुरआमाको काखमा बसेर कथा सुन्न मन लाग्दैन?
रमेशले आफ्ना छोराछोरीलाई हजुरआमाबुवासँग भिडियो कल गराउँथ्यो। तर धेरैजसो कुराकानी छोटो हुन्थ्यो।
’बाबु, पढाइ कस्तो छ?’
’राम्रो छ हजुरआमा।’
’ल, पढ्नू है।’
त्यसपछि फोन काटिन्थ्यो।
तर त्यही हजुरआमासँग छोरीका छोराछोरीको कुराकानी भने घण्टौँ चल्थ्यो। उनीहरूका लागि नयाँ उपहारको योजना बन्थ्यो। कहाँ घुम्न जाने, के खाने, के किनिदिने भन्ने कुरा हुन्थ्यो।
रमेशका छोराछोरी भने कहिलेकाहीँ मोबाइलको स्क्रिन हेर्दै बस्थे।
एक दिन सानो छोराले आमालाई सोध्यो, ‘ममी, हजुरआमाले दिदीलाई मात्रै गिफ्ट पठाउनुहुन्छ? मलाई किन पठाउनुहुन्न?’
आमाले जवाफ दिन सकिनन्।
उसले फेरि सोध्यो, ‘हजुरआमालाई म मन पर्दिनँ हो?’
त्यो प्रश्न सुनेर आमाको आँखाबाट आँसु झर्यो।
उनले छोरालाई अँगालो हाल्दै भनिन्, ‘होइन बाबु, हजुरआमाले तिमीलाई पनि माया गर्नुहुन्छ।’
तर उनको आफ्नै मनले त्यो जवाफ स्वीकार गर्न सकेन।
उता रमेशको जीवन पनि सजिलो थिएन।
बिहान अँध्यारोमै उठेर काममा जानु, दिनभर पसिना बगाउनु, मालिकको आदेश सहनु, कहिलेकाहीँ बिरामी हुँदा पनि काममा जानु र महिनाको अन्त्यमा कमाएको पैसा हिसाब गरेर नेपाल पठाउनु नै उसको दिनचर्या थियो।
उसलाई पनि बिरामी लाग्थ्यो।
उसलाई पनि ज्वरो आउँथ्यो।
काम गर्दा हात काटिन्थ्यो, ढाड दुख्थ्यो, खुट्टा सुन्निन्थे। कहिलेकाहीँ कामको तनावले रातभर निद्रा लाग्दैनथ्यो।
तर उसले कसैलाई सुनाउँदैनथ्यो।
किनकि उसलाई थाहा थियो, उसले आफ्नो दुःख सुनायो भने जवाफ आउन सक्छ, ‘विदेशमा कमाउन गएकै त्यस्तै दुःख गर्न त हो नि!’
मानौँ परदेशिएको छोरो मान्छे होइन, पैसा निकाल्ने मेसिन हो।
उसले कहिल्यै थकाइ महसुस गर्नु हुँदैन। उसले कहिल्यै बिरामी पर्नु हुँदैन। उसले कहिल्यै रुनु हुँदैन। उसको मनमा कुनै इच्छा हुनु हुँदैन।
उसको एउटा मात्र काम हुनुपर्छ—महिनाको अन्त्यमा पैसा पठाउनु।
कहिलेकाहीँ श्रीमतीले पनि घरखर्चको समस्या सुनाउँथिन्।
’छोराको फिस तिर्न बाँकी छ। छोरीको किताब किन्नुपर्छ। घरमा खाद्यान्न सकिन लागेको छ।’
रमेश चुपचाप हिसाब गर्थ्यो।
आफ्नो तलबबाट कोठाभाडा, खाना, यातायात र अन्य आवश्यक खर्च कटाउँथ्यो। त्यसपछि बाँकी रकम नेपाल पठाउँथ्यो।
आफ्ना लागि नयाँ लुगा किन्ने रहर पनि मार्थ्यो। साथीहरूसँग घुम्न जाने प्रस्ताव अस्वीकार गर्थ्यो। चाडपर्वमा मिठो खाने इच्छा दबाउँथ्यो।
उसले सोचेको हुन्थ्यो, ‘अलि पैसा जम्मा भएपछि नेपाल फर्किन्छु। छोराछोरीसँग बस्छु। श्रीमतीलाई पनि सुख दिन्छु।’
तर उसको आफ्नै घरमा भने उसले पठाएको पैसाको हिसाब सबैले राख्थे, उसको जीवनको हिसाब कसैले राख्दैनथ्यो।
एक दिन रमेशले आमालाई फोन गर्यो।
’आमा, तपाईंहरूलाई केही अप्ठ्यारो छ भने भन्नुहोला। म सक्दो सहयोग गर्छु।’
आमाले भनिन्, ‘हामीलाई त केही छैन बाबु। बरु घरको बिजुली र पानीको पैसा तिर्न बाँकी छ। मैले ह्वाट्सएपमा पठाएकी छु, हेर है।’
रमेश केही बेर चुप लाग्यो।
उसले हिम्मत गरेर सोध्यो, ‘आमा, घरभाडाबाट आएको पैसा के गर्नुभयो?’
’त्यो त छोरीलाई अलि समस्या थियो, पठाइदिएँ।’
’अनि तपाईंले बुझ्ने वृद्धभत्ता?’
’त्यो पनि सरितालाई नै दिएँ। ज्वाइँको पनि खर्च हुन्छ नि।’
रमेशले लामो सास फेर्यो।
’आमा, मेरो पनि त घर छ। छोराछोरी छन्। उनीहरूको पढाइ छ। म पनि यहाँ सजिलो अवस्थामा छैन।’
आमाले तत्काल जवाफ दिइन्, ‘तँ त विदेशमा छस् बाबु। कमाउँछस्। तेरो के दुःख होला र?’
त्यो एउटा वाक्यले रमेशको मनभित्र वर्षौँदेखि थुप्रिएको पीडा फेरि बल्झियो।
उसले केही बोल्न सकेन।
फोन काटेपछि ऊ धेरै बेर एक्लै बसिरह्यो।
उसलाई त्यो दिन पहिलोपटक विदेशको चिसोले होइन, आफ्नै आमाको एउटा वाक्यले कठ्याङ्ग्रिएको महसुस भयो।
केही महिनापछि नेपालमा दसैँ आयो।
घरघरमा जमरा राखियो। नयाँ लुगा किन्ने र मीठा परिकार बनाउने तयारी भयो। सरिताका छोराछोरीका लागि हजुरआमाले नयाँ लुगा र उपहार किनिदिइन्।
रमेशले पनि आफ्ना छोराछोरीका लागि केही सामान किनेर पठायो।
उसले भिडियो कल गर्यो।
’बाबा, तपाईं दसैँमा घर आउनुहुन्न?’
छोराले सोध्यो।
रमेश मुस्कुराउन खोज्यो।
’अहिले आउन मिल्दैन बाबु। अर्को वर्ष आउँछु।’
’तपाईंले पनि हामीसँग टीका लगाउन मन लाग्दैन?’
यो प्रश्न सुनेर रमेशको घाँटी अवरुद्ध भयो।
उसले आँसु लुकाउँदै भन्यो, ‘लाग्छ नि बाबु, धेरै लाग्छ।’
त्यसपछि छोराले अर्को कुरा भन्यो।
’बाबा, हजुरआमाले दिदीलाई नयाँ जुत्ता पठाउनुभयो। मलाई पनि अर्को वर्ष पठाउनुहुन्छ होला है?’
रमेश केही क्षण मौन रह्यो।
’पठाउनुहुन्छ बाबु, तिमी पनि राम्रोसँग पढ्नू।’
उसले फोन काट्यो।
त्यस रात उसले आफ्नो कोठामा एक्लै दसैँ मनायो। साथीहरूले मासु पकाए, रमाइलो गरे। तर रमेशलाई खाना खान पनि मन लागेन।
उसले मोबाइलमा परिवारको पुरानो तस्बिर हेर्यो। आफू, श्रीमती र छोराछोरी एउटै फ्रेममा मुस्कुराइरहेका थिए।
उसको मनमा एउटा प्रश्न उठ्यो—
’म आखिर कसका लागि यति दुःख गरिरहेको छु?’
समय बित्दै गयो।
रमेशले पैसा पठाउन छोडेन। आमाबुवाको आवश्यकता पर्दा सहयोग गरिरह्यो। घरको बिल तिरिरह्यो। चाडपर्वमा खर्च पठाइरह्यो।
तर उसको मनमा एउटा कुरा गहिरोसँग बसिसकेको थियो।
आफ्नो जिम्मेवारी पूरा गर्नु र सधैँ आफ्नो पीडा दबाएर बस्नु एउटै कुरा होइन रहेछ।
एक दिन उसले श्रीमतीलाई फोन गरेर भन्यो,
’मलाई आमाबुवासँग कुनै सम्पत्तिको आशा छैन। उहाँहरूले छोरीलाई दिनुहुन्छ कि कसलाई दिनुहुन्छ, त्यो उहाँहरूको अधिकार हो। तर मेरो छोराछोरीलाई पराइ नठानिदिनू। उनीहरू पनि उहाँहरूकै रगत हुन्। उनीहरूलाई पनि हजुरआमाको माया चाहिन्छ।’
श्रीमती केही बेर चुप लागिन्।
रमेशले फेरि भन्यो,
’मलाई पैसाको अभावभन्दा पनि आफ्नै परिवारमा आफ्नो अस्तित्वको अभावले बढी दुख्छ।’
त्यो रात रमेश धेरै रोयो।
सायद विदेश आएपछि पहिलोपटक उसले आफ्नो मनको सबै पीडा आँसु बनेर बग्न दिएको थियो।
—————————————————
यो कथा कसैको सम्पत्तिमा अधिकार खोज्ने छोराको होइन, समान माया खोज्ने सन्तानको हो।
छोरीलाई माया गर्नु गलत होइन। छोरीलाई आर्थिक सहयोग गर्नु पनि गलत होइन। छोरीको दुःखमा साथ दिनु पनि गलत हैन ।
तर छोरीलाई माया गर्दा छोरालाई बिर्सनु, छोरीका छोराछोरीलाई नातिनातिना ठान्दा छोराका छोराछोरीलाई पराइ व्यवहार गर्नुचाहिँ कस्तो न्याय हो?
परदेशिएको छोरो सधैँ धनी हुँदैन। विदेशमा बस्नेबित्तिकै पैसा रूखमा फल्दैन। उसले पनि आफ्नो पेट काटेर परिवार पालिरहेको हुन्छ। उसले पनि बिरामी हुँदा औषधि किन्ने पैसा खोजिरहेको हुन्छ। उसलाई पनि चाडपर्वमा घर फर्केर आफ्ना छोराछोरीसँग रमाउने रहर हुन्छ।
उसको कमाइ देखिन्छ, संघर्ष देखिँदैन।
उसले पठाएको पैसा देखिन्छ, त्यसका लागि बगाएको पसिना देखिँदैन।
उसको जिम्मेवारी सबैले सम्झन्छन्, तर उसको थकान कसैले सम्झिँदैन।
आमाबुवाले छोराछोरीबीच सम्पत्ति बराबर बाँड्नैपर्छ भन्ने छैन, तर माया र सम्मानमा विभेद किन?
छोरीको समस्या समस्या हो भने छोराको समस्या पनि समस्या हो। छोरीका छोराछोरी नातिनातिना हुन् भने छोराका छोराछोरी पनि नातिनातिना नै हुन्।
आमाबुवाको बुढेसकालमा छोराले जिम्मेवारी लिनुपर्छ भन्ने अपेक्षा राख्ने समाजले छोराको संघर्ष र पीडा पनि बुझ्न किन सक्दैन ?
अझ महत्त्वपूर्ण कुरा, छोराले पैसा पठाउन ढिलो गर्दा उसलाई स्वार्थी भन्नुअघि उसको अवस्था बुझौँ। ऊ पनि कसैको श्रीमान् हो, कसैको बुवा हो, कसैको सपना बोकेर परदेशिएको छोरो हो।
छोरालाई जिम्मेवारीको भारी मात्रै नबोकाऔँ, उसलाई पनि सन्तानको माया र अभिभावकको आत्मीयता महसुस गर्न दिऔँ।
किनकि एउटा छोरो घर छोडेर परदेशिएको हुन सक्छ, तर उसको मन अझै पनि त्यही घरको आँगनमा हुन्छ।
उसलाई सम्पत्तिको हिस्सा नचाहिएको हुन सक्छ, तर आमाबुवाको मायामा आफ्नो हिस्सा खोज्ने अधिकार अवश्य हुन्छ।
सम्बन्ध पैसाले टिक्दैन, समान व्यवहार र आत्मीयताले टिक्छ। छोराछोरीबीच माया बाँड्दा कसैलाई बढी र कसैलाई कम नबनाऔँ।
आफ्नै बाबाआमाबाट प्राय बनेको छोरो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)


